– भक्तराज रसाइली

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा अनुमति दिएको दुई महिना बितिसक्दासमेत लगानीकर्ताहरुले सेवा लिन सकिरहेका छैनन् ।

मार्जिन कारोबार भएका डेटा तथ्यांक राख्न ब्रोकरहरुले सिडिएससीलाई आग्रह गरेको थियो ।  सिडिएससीले विनियमावलीमै समाहित गरेर नेपाल धितोपत्र बोर्डसमक्ष पेस गरेको लामो समय बितिसक्दासमेत नेप्सेबाट मार्जिन कारोबार  सुविधाको अनुमति पाएका १४ ब्रोकर कम्पनीहरुले मार्जिन ऋण उपलब्ध गराउन असमर्थ भएका हुन् ।

बिजशाला स्रोतअनुसार सिडिएससीलाई विनियमावलीबारे स्पष्ट पार्न हिजो मंगलबार पत्राचार गरेको थियो । अब मार्जिन कारोबारका लागि सिडिएससीले स्पष्ट पारेपछि धितोपत्र बोर्डको सञ्चालक समितिले पास गरेपश्चात मात्रै लगानीकर्ताहरुले नेप्सेबाट अनुमति पाएका १४ ब्रोकर कम्पनीमार्फत मार्जिन ऋण लिन सक्ने छन् ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले मार्जिन कारोबारसम्बन्धी विनियमावली बोर्डबाट पास भएर नआउँदा सेवा सुचारु गर्न नसकेको दाबी गरे । मार्जिन कारोबार सुविधाका लागि आवश्यक ब्याकाफिस सिस्टम भने तयारी अवस्थामा रहेको अध्यक्ष रानभाटको जिकिर छ ।

मार्जिन कारोबार प्रडक्ट बजारमा थप गर्दा फ्रन्टलाइन रेगुलेटर नेप्से र नियामक नेपाल धितोपत्र बोर्डको आपसी जुँघा लडाइँकै कारण ब्रोकरहरुले सेवा सुचारु गर्न बन्चित भएका छन् ।

नेप्सेले हालसम्म १४ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमति दिइसकेको छ ।

करिब डेढ महिनाअघि नै सिडिएससीले मार्जिन कारोबारको रेकर्ड राख्न बनाइएको सिस्टम सञ्चालक समितिबाट पारित गरेर सोसम्बन्धी कार्यविधि धितोपत्र बोर्डसमक्ष पेस गरेकोमा बोर्डले विनियमावलीमै समावेश गर्नुपर्ने निर्देशन दिएकोमा हिजो मंगलबार पुनः विनियमवली स्पष्ट पार्ने निर्देशन आएको सिडिएससीको भनाइ छ ।

विगत लामो समयदेखि मार्जिन कारोबार कहिले नेपाल राष्ट्र बैंक त कहिले सेबोन अनि कहिले नेप्सेतिर हलो अड्केपछि सेबोनले नै नेप्सेलाई मार्जिन कारोबारको इजाजत दिन अधिकार र  निर्देशन दियो। तर सेबोनका अध्यक्ष डा रेवतबहादुर कार्की हाल आएर नेप्सेले मार्जिन कारोबारको इजाजत प्रमाणपत्र दिएकाले त्यसको जस नेप्सेको पोल्टोमा गएकाले रुष्ट भएकै कारण कार्यविधि पास गर्न ढिलासुस्ती गरेको स्रोतले बताएको छ ।

यता सिडिएससीले ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार गरेको रेकर्डका लागि बनाउने सिस्टमको समेत शुल्क लिन गइरहेको छ । मौकामा चौका हान्न उद्दत सिडिएससीले मार्जिन कारोबार भएका कम्पनीहरुको सम्पूर्ण विवरण संग्रहित गरिदिएबापत ब्रोकरहरुबाट निश्चित शुल्क र लगानीकर्ताहरुबाट समेत मार्जिन खाता सञ्चालनको शुल्क लिने लागेको छ ।