– अनन्त्य सुन्दर

काठमाण्डौ । ब्रोकरहरुले छोटो अवधिका लागि लगानीकर्ताहरुलाई प्रदान गरिने भनिएको ‘मार्जिन लेन्डिङ’ अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। 

नियामक निकाय, ब्रोकर साथै लगानीकर्ताहरुले नै चासो नदेखाएकोले वित्तीय विज्ञहरु मार्जिन लेन्डिङलाई असफल प्रडक्ट भन्दै आएका छन्। लगानीकर्ताहरुले बजारमा छोटो अवधिका लागि ब्रोकरमार्फत कर्जा दिनको सञ्चालनमा ल्याइने भनिएको यो प्रडक्ट अहिले छाँयामा परेको छ।

‘कार्यविधि नै टाइट भएकाले लगानीकर्ताहरु नै आकर्षित छैनन्’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘नेप्सेमा सूचीकृत झन्डै ४०–५० प्रतिशत कम्पनीहरुमा मात्र लगानी गर्न पाइन्छ। तर, बैंकले नेप्सेमा सूचीकृत झन्डै ८० प्रतिशत कम्पनीहरुमा लगानी गर्न कर्जा प्रदान गर्छ। त्यसका साथै मार्जिन लेन्डिङमा लगानीकर्ताहरुलाई बन्देज धेरै छ।’ 

अहिले मार्जिन लेन्डिङ दिन धेरै ब्रोकरहरु सक्ष रहेको ती ब्रोकर सञ्चालक बताउँछन्। त्यसैले ब्रोकरलाई विभिन्न श्रेणीमा राखी मापदण्ड निर्धारण गर्दा दीर्घकालीन रुपमा बजारमा मार्जिन लेन्डिङले बजारमा ठूलो भूमिका खेल्ने उनको बुझाइ छ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजका सञ्चालक प्रियाराज रेग्मी मार्जिन लेन्डिङमा भएका सर्तहरु वर्केवल नभएकाले लगानीकर्ता साथै ब्रोकरहरुले पनि चासो नदेखाएको बताउँछन्। ‘मार्जिन लेन्डिङ छोटो समयका लागि बजारमा आउने अवसरलाई छोप्न गर्न प्रदान गरिने कर्जा हो। तर यसमा लगानीकर्ताहरुलाई नेप्सेले स्वीकृत गरेकामध्ये १० वटा कम्पनीमा लगानी गर्नुपर्नेजस्ता बन्देजहरु छन्। सबै कम्पनीहरुमा एकै पटक अवसर न आउन सक्छ। त्यसैले गर्दा लगानीकर्ताहरु आकर्षित नभएको देखिन्छ।’

‘बैंकले ग्राहकलाई कर्जा ७० प्रतिशतको दरमा प्रदान गर्ने गरेको छ तर ब्रोकरले ५० प्रतिशत दरमा मात्र कर्जा दिन पाइने भनिएको छ’, रेग्मी भन्छन्, ‘त्यसैले पनि लगानीकर्ताहरु मार्जिन लेन्डिंगमा आकर्षित छैनन्। 

‘ब्रोकरहरु पनि कर्जा कुन स्रोतबाट ल्याएर प्रदान गर्ने भनेर अन्योलमा छन्। त्यसैले अहिले ब्रोकरहरु पनि चुप छन्’, रेग्मी भन्छन्। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली मार्जिन लेन्डिङको कार्यविधि परिमार्जन नभएसम्म लगानीकर्ताहरु आकर्षित नहुने बताउँछन्। ‘एउटा कम्पनीमा लगानीकर्ताहरुले टोटल मार्जिन लोनको १० प्रतिशतमात्र लगानी गर्न पाउने भनिएको छ’, मैनाली भन्छन्, ‘उक्त रकम नेप्सेले स्वीकृत गरेको कम्पनीहरुमा मात्र लगानी गर्न पाइने भनिएको छ। त्यसका साथै बैंकको लिभरेज ७० प्रतिशत छ। तर ब्रोकरले दिने ५० प्रतिशतमात्र छ। ब्रोकरहरु त कर्जा प्रदान गर्न इच्छुक छन्। तर लगानीकर्ता नै आकर्षित छैनन्।’

‘ब्रोकरको कर्जाको स्रोत पनि क्लियर छैन’, मैनाली भन्छन्, ‘ब्रोकरले कर्जा प्रदान गर्न अथाह इक्विटी जुटाएर आफ्नो पुँजी दिने कुरा पनि भएन। त्यसैले कर्जा प्रदान गर्दा सेयर नै धितो राखी बैंकका साथै ब्रोकर पनि सुरक्षित हुने उपयुक्त मोडल ल्याउन आवश्यक छ।’

दीर्घकालीन रुपमा मार्जिन लेन्डिङले सेयर बजारमा ठूलो भूमिका खेल्ने मैनालीको भनाइ छ। ‘अहिले बैंकहरुलाई सेयर बजार तरलता व्यवस्थापनको टुल बनेको छ। बैंकमा तरलता कम वा बढी हुनेबित्तिकै बैंकका कर्मचारीहरु ब्रोकर अफिस धाउँछन्’, उनले भने, ‘त्यसैले बैंक र ब्रोकरबीच सम्झौता गरी कार्यविधि संशोधन गरी मार्जिन लेन्डिङ सञ्चालनमा ल्याउन आवश्यक छ।’  

मैनालीका अनुसार २२–२५ जना ब्रोकरहरुले लाइसेन्स लिइसकेका छन्। तर सञ्चालनमा आउन नसकेकाले केही ब्रोकरहरुले नवीकरण पनि गरेका छैनन्। मार्जिन लेन्डिङलाई बैंकिङ प्रडक्टभन्दा पनि क्यापिटल मार्केटको प्रडक्टका रुपमा विकास गर्न सक्दा लगानीकर्ताहरुलाई पनि सहज हुने मैनाली बताउँछन्।  

नेप्सेका एक उच्च अधिकारीले ब्रोकरहरुले भनेअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनमा संशोधन भइसकेको बताए। ‘मेरो विचारमा संशोधनबारे ब्रोकरहरुलाई जानकारी पनि गरेको छ। तर ब्रोकरहरुसँग मार्जिन लेन्डिङ गर्न पुँजीको कमी हुने भएकाले ब्रोकरहरुले लगानीकर्ताहरुको नै सेयर धितो राखेर बैंकबाट कर्जा लिएर लेन्डिङ गर्ने भनेर लबिङ गरेका थिए’, ती अधिकारीले भने, ‘उक्त माग बोर्डलाई स्वीकार्य थिएन। आफ्नो माग पूरा नभएपछि ब्रोकरहरुबाट अहिले सञ्चालनमा नआएको हुन सक्छ।’