काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा माग ९४.६९ गुणा बढी आवेदन परेको छ । 

सीडीएससीका अनुसार कम्पनीको एफपीओमा आइतबार बिहान  सम्ममा १० लाख २० हजार १८९ जनाले १ करोड १७ लाख २४ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । 

कम्पनीले असोज २५ गतेदेखि १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्नुको कारण :

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्न लागेको कम्पनीले बताएको छ ।

हाल उक्त कम्पनीको संस्थापकतर्फ ७१ प्रतिशत र सर्वसाधारणतर्फ २९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान रहेको छ । एफपीओ निष्कासन पछि कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम हुनेछ । 
के हो एफपीओ निष्कासन ? 

कुनै कम्पनीले प्राथमिक सेयर निष्कासन गरेपछि पूँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने गर्दछन् । त्यसो त कतिपय कम्पनीहरूले भने सेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्ने गर्दछन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीको कुल चुक्तापूँजीको ७० प्रतिशत सेयर संस्थापकतर्फ र ३० प्रतिशत सेयर सर्वसाधारणतर्फ हुनुपर्ने प्रावधान छ । 

तर, जोसुकै कम्पनीले पनि एफपीओ निष्कासन गर्न पाउँदैनन् । यसका लागि केही शर्त तोकिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार एफपीओ निष्कासन गर्नका लागि कम्पनीले लगातार तीन वर्ष नाफा गरेको, कारोबार शुरु गरेको पाँच वर्ष पूरा भएको र औसतमा क्रेडिट रेटिङ पनि राम्रो हुन आवश्यक छ ।  

कम्पनीले एफपीओ निष्कासन गर्दा अंकित मूल्य वा अंकित मूल्यमा प्रिमियम थप गरी निष्कासन गर्ने गरेका छन् ।