काठमाण्डौ । छुट्टा–छुट्टै हिँड्दा कमजोर हुन थालेको र कतिपय स्वार्थ समूहले खेल्ने मौका समेत पाएका निश्कर्ष निकाल्दै पुराना र नयाँ सेयर ब्रोकरहरु एक हुन सहमत भएका छन् । 

स्टक ब्रोकर एशोसिएसन अफ नेपालले पुराना ५० ब्रोकर कम्पनीहरुकै तर्फबाट हालै लाइसेन्स पाई कारोबार सुरु गरेका ४३ ब्रोकर कम्पनीहरुको संगठन ‘धितोपत्र ब्रोकर एशोसिएसन नेपाल’लाई दशैंतिहारको शुभकामना आदानप्रदान तथा स्वागत भनेर औपचारिक कार्यक्रममै निम्ता गरेपछि सहमतिको वातावरण बनेको हो । 

एशोसिएसनले काठमाण्डौको एक रेष्टुरेन्टमा असोज २५ गते बिहीबार दिउँसो ३ बजे ‘स्वागत, परिचय तथा शुभकामना आदानप्रदान कार्यक्रम’ आयोजना गरेको थियो । पत्रकारहरुलाई निषेध गरिएको सोही कार्यक्रममा पुराना ब्रोकरहरुले नयाँ ब्रोकरहरुलाई स्वागत गरेका थिए । नयाँ ब्रोकरहरुले पनि पालैपालो आफ्नो परिचय दिएका थिए भने दशैंतिहार र छैठको अवसरमा शुभकामना आदानप्रदान पनि भएको थियो । 

कार्यक्रममा नयाँ ब्रोकरहरुको संगठन धितोपत्र ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष सागर ढकाल लगायतका सदस्यहरु प्राय सबै पुगेका थिए । 

धितोपत्र बोर्डले नयाँ ब्रोकरकाले लाइसेन्स बाँड्न लाग्दा पुरानाले रोक्न खोजेका थिए । पुरानाहरुले आफूहरुलाई रोक्न खोजेपछि रिसाएका नयाँ ब्रोकरहरुले लाइसेन्स पाएपछि आफ्नै छुट्टै संगठन स्थापना गरी सक्रिय बनेका थिए । त्यसपछि पनि कतिपय सार्वजनिक फोरमहरुमा पुराना र नयाँ ब्रोकरहरुबीच खासै राम्रो सम्बन्ध थिएन । नयाँ ब्रोकरहरुले छानी–छानी पुरानाका ग्राहक समेत खोस्न थालेपछि तिक्तता अझ बढेको थियो । तर, पुराना र नयाँबीचको तिक्तता बढ्दा ब्रोकरहरुलाई नियामकहरुले पेल्न थालेको महसुस गरिएपछि सम्बन्धमा आइसब्रेक भएको एक ब्रोकरले जानकारी दिए । 

‘विगतमा असहमतिहरु थिए होलान्, तर एउटै पेशा र उही कर्म भएपछि मिलेरै अगाडि बढ्दा राम्रो हुने देखेर सबै एउटा फोरममा भेला हुने अवस्था बन्यो ।’ एक पुराना ब्रोकरले बिजशालासँग भने–‘हामीले नै सम्बन्धमा आइसब्रेक गर्दै नयाँ साथीहरुलाई स्वागत गर्ने चाहना राख्यौं, हाम्रो निमन्त्रणलाई उहाँहरुले पनि सहजै स्वीकार गर्नुभयो र सहमतिको वातावरण बन्यो ।’ 

पुराना र नयाँ ब्रोकर भेला भएको कार्यक्रममा सबैले परिचयसँगै छोटकरीमा आफ्नो धारणा राख्ने मौका पाएका थिए । सो क्रममा प्राय सबै ब्रोकरले पुराना र नयाँ मिलेर सशक्त संगठन बनाउनुपर्नेमा जोड दिएका थिए । पुराना र नयाँ गरी ९३ वटा ब्रोकर कम्पनीहरु हाल सेयर बजारमा सक्रिय छन् । ती सबैलाई एउटै छातामुनि ल्याउने गरी बिहीबारको कार्यक्रमबाट ‘सुखद सुरुवात’ भएको स्रोतको भनाई छ । 

‘यो कार्यक्रमले सहमतिको वातावरण तयार गरेको छ । सबै साथीहरुले अब सहमति गरेर एउटै संगठन बनाएर जानुपर्छ भन्नुभएको छ ।’ स्रोतले भन्यो –‘आजको सहमतिलाई हामी चाँडै कार्यान्वयनमा लैजानेछौं र चाँडै हाम्रो एउटै एशोसिएसन बन्नेछ ।’ 

पुराना ब्रोकरहरुले २८ वर्षदेखि सक्रिय स्टक ब्रोकर एशोसिएसनको सदस्य बनेर नयाँ ब्रोकरहरु आएमा सहज हुने आशय व्यक्त गरेका छन् । तर, नयाँले भने एक भएर अगाडि बढ्ने हो भने दुवै पक्षलाई स्वीकार हुने खालको नामसहितको संगठन बन्नुपर्नेमा जोड दिएका छन् । 

‘एक भएर जाने कुरामा सहमति भइसकेपछि त्यसको मोडालिटी, एशोसिएसनको नाम वा जिम्मेवारीको कुरा ठूलो विषय हुँदैन ।’ अर्का एक ब्रोकरले भने–‘मुख्य कुरा हामी एक भयौं । अब हाम्रो आवाज पनि बलियो र बुलन्द हुनेछ । हाम्रो पेशागत सुरक्षाका लागि समेत यो एकता आवश्यक थियो ।’ 

पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने प्रस्तावलाई अगाडि बढाइरहेको छ । आम्दानीका अन्य कतिपय स्रोतहरुमा पनि कैंची लगाउने सरकारी पक्षबाट तयारी भइरहँदा झस्किएका ब्रोकरहरु अन्ततः एक हुने खबर सेयर बजारका लागि पनि सकारात्मक नै हुनसक्छ ।