काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीकोआईपीओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आबेदन परेको छ  । 

सीडीएसीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १३ लाख २२ हजार ९९४ जना आबेदकहरुबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता सेयर माग भएको छ । यो कम्पनीको आईपीओमा १ अर्व ४३ करोड २८ लाख १८ हजार रुपियाँको सेयर माग भएको हो । 

गत मंसिर ८ गतेदेखि बिक्री खुला भएको कम्पनीको आईपीओमा छिटो अवधि अर्थात् मंसिर १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो । कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा बिक्री खुलाएको हो । कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो ।

कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।

प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आइपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ । आईपीओ बाँडफाँट पछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ । सेयर निष्कास तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।