काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष अनिलकुमार उपाध्यायले मुलुकमा आर्थिक सन्तुलन कायम गर्न एनबीएले अहम् भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन्। 

काठमाण्डौमा सोमबार आयोजित एनबीएको ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘विगत २ वर्षदेखि बैंकिङ क्षेत्रमा उतारचढाव र असन्तुलनका बीच सन्तुलन मिलाउने प्रयासरत छौँ’, उनले भने। 

अध्यक्ष उपाध्यायले सन् २०२३ सम्मको परिवेश हेर्दा बैंकिङ दिगो स्रोत संकलन, ब्याजदर व्यवस्थापन, जोखिममा आधारित कर्जा मूल्यांकन, आक्राणक व्यावसायिक रणनीति, डिजिटल करेन्सीजस्ता विषयतर्फ हुनुपर्ने अवस्था आएको बताए। ‘विद्यमान बैंकिङ चुनौती उच्च ब्याजदर, स्रोत संकलन, गुणस्तरीय नहुनु र अर्थतन्त्रमा आएको मन्दी, बढ्दो व्यापार घाटाका कारण तरलतामा परेको चाप आदिका कारण बैंकहरुको कर्जा गुणस्तरियता प्रभावित भएको देखिन्छ’, उनले भने, ‘बढ्दो ब्याजदर र मुद्रास्फीति उद्योगव्यवसायी उत्पादनमुखी हुन नसकेको विगतको तथ्यांकले पनि देखाउँछ।’

बैंकहरुको बढ्दो स्रोतको लागत, रिस्क बेस्ड प्राइसिङ, घट्दो स्प्रेड दर र रिटर्न अन इक्विटमा निरन्तर गिरावट आदि चिन्ताका विषय रहेको उपाध्यायले बताए। ‘सरकारको लक्ष्यबमोजिम उच्च आर्थिक वृद्धि कायम गर्ने, मौद्रिक नीतिको लक्ष्यबमोजिम विदेशी मुद्रा सञ्चिती व्यवस्थापन गर्ने तथा बैंकिङमा ब्याजदर स्थायित्व कायम गर्ने त्रिकोणा मिलनविन्दु मुख्य चुनौती छन्’, उनले भने, ‘यसलाई व्यवस्थापन गर्न हामी मिलेर जानुको विकल्प छैन।’