काठमाण्डौ । नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाकानजिकै छोसेर भन्ने स्थानमा जेठ १३ गतेदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ । 

एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो । 

दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहुँच पुर्याइएको हो । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् ।  

उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । अब सो क्षेत्रका बासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् । 

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।