काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ।
काठमाण्डौमा मंगलबार सम्पन्न मेगा बैंकको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्तापुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँ लाभांश पारित गरेको हो। त्यसमध्ये चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५ रुपैयाँ ७६ पैसा बोनस सेयर र २.०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७७४.६२ रुपैयाँ नगद लाभांश साधारणसभाले पारित गरेको छ।
सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। यसैगरी गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवर्द्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंकभित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए। ‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग–व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक–वित्तीय संस्थाहरुको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौँ’, उनले भने, ‘पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरुअनुकूल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौँ।’
अध्यक्ष शाहले वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए। यसैगरी काठमाण्डौको विशालनगरमा आगामी तीन वर्षभित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले जानकारी दिए।
अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवर्द्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई समृद्ध बनाउँदै आएको स्मरण गराए। जसअन्तर्गत यस आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब १ करोड १७ लाख २५ हजार ५७३ रुपैयाँ राजश्व दाखिला गरेको शाहले बताए। उनका अनुसार मेगा बैंकले गत वर्षको तुलनामा ५१% बढी राजश्व दाखिला गरेको छ।
आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघीय–प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार–उपचारार्थ खर्च गर्ने नीति लिएको छ। शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्रालाई वार्षिक रुपमा ४३ लाख रकम रुपैयाँबराबरको छात्रवृति उपलब्ध गराएको छ। यो छात्रवृतिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो।
सभामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाइतर्फ अग्रसर भएको बताइन्। ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग–व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवर्द्धनलाई त्यतातर्फ मोडेका छौँ। जसका कारण मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको छ’, खुञ्जेलीले भनिन्।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैँया पुगेको छ। यसैगरी खुदकर्जा ८ अर्ब ५० करोड रुपैँयाले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ।
मेगा बैंकले विभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सीईओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुटलगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन्। उनका अनुसार कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ५ अर्ब ७४ करोड रुपैयाँ सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैयाँ पुनरकर्जाहरु प्रवाह गरेको छ।
दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सीईओ खुञ्जेलीले बताइन्। बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै सीईओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरु सञ्चालनमा ल्याइएको जानकारी दिइन्। ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङजस्ता सेवा संचालनमा ल्याएको उनले बताइन्।
अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०३ वटा शाखा कार्यालय, २४ वटा एक्सटेन्सन काउन्टर, १३९ वटा एटीएम मेसिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19