– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालको इतिहासमा पञ्चायतकालपछिकै सबैभन्दा कम कर्जा प्रवाह भएको छ भने अर्थतन्त्र पनि सुस्त बनेको छ। 

कोभिडपछिको रिकभरीमा संसारको धेरै देशले आर्थिक फड्को मारिसकेको अवस्था छ। तर, नेपालको सेयर बजार र अर्थतन्त्र सधैँ धर्मराएको अवस्थामा रहेको हुन्छ। अर्थतन्त्रमा देखिएको सुस्तताको सबैभन्दा गहिरो चोट र प्रहार सेयर बजारमा पर्ने गरेको छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुँदाको दिन सेयर बजार २२४० अंकसम्म पुगेको थियो। आज बजार १९९०.५९ अंकमा बन्द भएको छ। यस हिसाबले बजार यो ६ सातामा २५० अंक गुमेको छ। यो अवधिमा सेयर लगानीकर्ताले २ खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन्।  

मौद्रिक नीति सार्वजजिक भएको दिन बजार करिब ६३ अंकले बढेको थियो भने बजार पुँजीकरण ३२ खर्ब ७२ अर्ब रुपैयाँमा पुगेको थियो।  आज बजार पुँजीकरण ३० खर्ब ६७ अर्ब रुपैयाँमा खुम्चिएको छ। 

त्यसपछि ओरालो लाग्न थालेको बजार लगातार ६ हप्ता घटेको छ। यो भनेको बजारको बियरिस यात्राको दोस्रोपटक यसरी लगातार ६ साता घटेको हो।

एकपछि अर्को आशामा बसेका लगानीकर्ताले मौद्रिक नीतिमा ठूलै हेरफेर हुने अपेक्षा गरेका थिए। राष्ट्र बैंकबाट लगानीकर्ताले गरेको अपेक्षाअनुसारको मौद्रिक नीति नआउँदा बजार खसेको खस्यै गरेको बजार जानकारहरुको मत छ। 

खासगरी बजारको विकास र विस्तारको जिम्मा लिएको नियामक निकाय भनेको नेपाल धितोपत्र बोर्ड नै हो। धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल प्रायः देशबाहिर नै हुन्छन्। देशमै रहँदा पनि धेरैजसो समय उनी ब्रोकरका शाखा उद्घाटन र आफ्नै व्यवसायमा रहने गरेको स्वयं धितोपत्र बोर्डकै कर्मचारी बताउँछन्। 

अहिलेको समयमा लगानीकर्ताले धितोपत्र बोर्डका अध्यक्ष हमालले राष्ट्र बैंकसँग समन्वयकारी भूमिका निभाउनुपर्ने अपेक्षा गरेका छन्। तर, उनी राष्ट्र बैंकले बोलाएको औपचारिक कार्यक्रममा कहिल्यै पनि देखिएनन्। 

हालै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरेको संशोधनले उद्योगी–व्यवसायीलाई राहात दिनुभन्दा पनि घुमाउरो पाराले कसेको बजार जानकार गोविन्दप्रसाद घिमिरे बताउँछन्। ‘मार्गदर्शनमा गरिएको संशोधित व्यवस्थाले नियामक टसमस भएकोजस्तो देखिँदैन’, घिमिरेले भने। 

नियामक निकाय र राष्ट्र बैंकको रवैयाले बजारमा लगानीकर्ताको मनोबल बढ्न नसक्ने ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता सुरज बाँस्कोटा बताउँछन्। ‘अहिले नियामकहरु रमितेमात्रै बनेका छन्’, उनले भने।

केही ब्रोकर सञ्चालकहरु पनि अर्थतन्त्र र सेयर बजारको यो अवस्थामा आउँदा पनि अर्थ मन्त्रालय निरीह बनेको आरोप लगाउँछन्। सक्रिय लगानीकर्ता उपेन्द्र पाठकले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘आफ्नो निर्णय कार्यान्वयन गर्न नसक्ने अर्थमन्त्री सत्तामा बसिरहन उपयुक्त हुँदैन।’