काठमाण्डौ ।  अर्थमन्त्री डा प्रकाशसरण महतले एशिया प्रशान्त क्षेत्रका बैंकरहरुलाई सम्बोधन गर्दै अब केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् ।

उनले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाई गरेको र अवको अवस्था सहज बन्दै गएकोले मौद्रिक नीति खुुकुलो बनाउँदै लैजान सुझाव दिएका हुन् ।

एशियन बैकिङ एशोसिएशन(एबीए) को ३९ औं वार्षिक साधारणसभा तथा सम्मेलनको बिहीबार काठमाण्डौमा उद्घाटन गर्दै अर्थमन्त्री महतले उच्च ब्याजदरका कारण नेपाल जस्ता देशको आर्थिक बृद्धिदर सुस्त बनेको र यसले निजी क्षेत्रको मनोबल गिराउने काम गरेकोमा चिन्ता व्यक्त गरे ।

उनले एशिया भरका बैंकहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको सुनाउँदै आफ्ना क्षेत्रका लगानीकर्तालाई त्यसतर्फ  प्रोत्साहन गरिदिन पनि आह्वान गरे ।

उनले भने,‘नेपालमा उत्पादित १० हजार मेगावाट विद्युत् भारतले खरिद गरिदिने सम्झौता भइसकेको छ,यसमा लगानीको वातावरण बनेमा तपाईं बैंकरहरुको लगानीले पनि राम्रो प्रतिफल पाउने छ ।’

अर्थमन्त्री महतले बढ्दो डिजिटल बैकिङसँगै चुनौतीहरु पनि थपिरहेको उल्लेख गर्दै यस्ता साझा समस्याको डटेर समाधान गर्ने गरी सम्मेलनले ठोस रोडम्याप तय गर्नेमा आफू आशाबादी रहेको बताए ।