काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले मौलिकता र सौन्दर्य जगेर्ना गर्न हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेध गरिएको बताएका छन्। 

मेयर साहले आज आफ्नो फेसबुक स्ट्याटसमार्फत यस्तो जानकारी गराएका हुन्। हनुमानढोका परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको यसो गरिएको उनले स्पष्ट पारेका छन्। 

काठमाण्डौ मुख्य रुपमा प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण रहेको मेयर साहको भनाइ छ।

‘काठमाण्डौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन्’, उनले लेखेका छन्, ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यावसायिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटक आउन सक्छन्। वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटक आउने र लाखौँ आउन सक्ने सम्भावना छ।’