काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा रिडी पावर कम्पनी घाटामा गएको छ। 

कम्पनीले आज आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार यो त्रैमासमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री र अन्यबाट हुने आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको त्यस्ता आम्दानी ९ करोड २९ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले आम्दानी पनि ५६.६६ प्रतिशतले घटेको छ। 

बैंकको व्याजमा वृद्धि हुन जाँदा खुद आम्दानीमा कमी देखिएको कम्पनीले जनाएको छ। अर्कोतर्फ इवा खोला जलविद्युत आयोजना बाढीका कारणबाट क्षतिग्रस्त भई आम्दानी प्राप्त नभएको पनि कम्पनीले स्पष्ट पारेको छ। 

चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ४९ करोड ७३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको ईपीएस ७७ पैसाले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.३८ रुपैयाँ छ।