– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सेयर लगानीकर्ताले अब आफ्नै ब्रोकरबाट मार्जिन लेन्डिङको सुविधा पाउने भएका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत वैशाख १५ गतेदेखि मार्जिन कारोबारको सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरेको छ। नेप्सेले यो कार्यविधि लागू गरेसँगै हाल मार्जिन कारोबार सुविधा प्रदान गर्न ब्रोकर कम्पनीहरुले धमाधम नेप्सेमा यो सुविधाको लिइएको अनुमतिपत्र नवीकरण गरिरहेका छन्।

मार्जिन कारोबार सञ्चालन गर्न भनेर यसअघि नेप्सेमा २२ वटा ब्रोकर अनुमति लिएका थिए। ‘तीमध्ये चालु आर्थिक वर्षको हालसम्म १५ वटा कम्पनीले अनुमतिपत्र नवीकरण गरेका छन्’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘बाँकी ब्रोकरहरु पनि नवीकरणमा आउने तरखरमा छन्।’ 

अनुमतिपत्र नवीकरण गरेका १५ वटा ब्रोकरमा पनि सबैभन्दा पहिले सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) ले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ। ‘१–२ दिनबाटै हामीले यो सेवा ग्राहकलाई प्रदान गर्नेछौँ’, उनले भने, ‘सायद यो सेवा प्रदान गर्ने हामी नै पहिलो ब्रोकर कम्पनी हुनेछौँ।’ 

अग्रवालका अनुसार ब्रोकरहरुले आफ्नो नेटवर्थको दुईगुणासम्म मार्जिन कारोबार गर्न पाउँछन्। ‘ग्राहकको प्रोफाइल हेरेर एकाघरमा बढीमा सोही मार्जिन कारोबारको १० प्रतिशत मार्जिन लेन्डिङको सुविधा दिन पाइन्छ’, उनले भने, ‘यो सीमामा पनि ग्राहकको प्रोफाइलअनुसार हुनेछ।’

उदाहरणका लागि यदि कुनै ब्रोकर कम्पनीको नेटवर्थ १० करोड रुपैयाँ रहेको छ भने उसले २० करोड रुपैयाँबराबरको मार्जिन कारोबार गर्न पाउँछन्। ब्रोकरबाट सुविधा लिने ग्राहकले भने सोही २० करोड रुपैयाँको अधिकतम १० प्रतिशत अर्थात २ करोड रुपैयाँसम्म मार्जिन लेन्डिङ सुविधा पाउनेछन्।

यसरी मार्जिन लेन्डिङको सुविधा दिँदा ग्राहकले अग्रिम रुपमा ३० प्रतिशत मार्जिन राख्नुपर्नेछ भने ७० प्रतिशतमात्रै ब्रोकरले उपलब्ध गराउनेछ। ग्राहकको प्रफाइलअनुसार ब्रोकरले न्यूनतम ३० प्रतिशतदेखि माथि पनि मार्जिन लिन सक्नेछन्। ब्याजदर भने ब्रोकर र लगानीकर्ताबीच आपसी सहमतिमा हुनेछ। 

नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) का सञ्चालक ईश्वरीप्रसाद रिमालले पनि आउँदो आर्थिक वर्ष मार्जिन लेन्डिङको सुविधा दिने बताउँछन्। 

हालसम्म मार्जिन कारोबार अनुमतिपत्र नवीकरण गरेका १५ ब्रोकर निम्नानुसार छन्–

  • सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९)
  • सेक्योर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६)
  • भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)
  • प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नं. १६)
  • कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)
  • दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नं. ३८)
  • इम्पेरियल सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. ४५)
  • आर्यतार इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)
  • दिव्य सेक्युरिटिज एन्ड स्टक हाउस (ब्रोकर नं. ५९)
  • डाइनामिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४)
  • क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०)
  • श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) 
  • दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३)
  • निभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४७) 
  • श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६)