काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यही जेठ ११ गतेबाट साधारण सेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। 

संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ। 

साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यो संस्थाको कुल चुक्तापुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँको ९४.०१ प्रतिशतले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५०० र ५.१९ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रुपैयााबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम युनिक नेपालले एफपीओ जारी गर्न लागेको हो। 

यो एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

यो एफपीओको निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गते बैंकिङ समयपछि हुनेछ। 

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।