काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्ष (आव) २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा केहि घटेको छ ।  गत आवमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी केहि घटेर चालू आवको सोही अवधिमा १ करोड ५३ लाख रुपैयाँमा सीमित छ। 

कम्पनीको चुक्तापूँजी ६ अर्ब ८४ करोड रुपैयाँ छ । यसैगरी कम्पनीको जगेडा कोष ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनी  ३० करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो । 

कम्पनी नोक्सानीमा रहेकाले प्रतिसेयर आम्दानी पनि ९० पैसा ऋणात्मक छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ ९४.८७ रुपैयाँ रहेको छ । कम्पनीले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका १ र २ टिमुरेको सिमानामा हुँदै बहने भोटेकोशी नदीको पानी उपयोग गरेर १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माणको हालको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । हालसम्ममा कम्पनीले विद्युत उत्पादन भने सुरु गरेको छैन ।