काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध मुद्दा दायर गरेको हो। 

आर्थिक वर्ष २०७१र०७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँटका कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व् रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्दै उजुरी परेको थियो। 

उजुरी पछि अनुसन्धान गरी अख्तियारले उनीहरुविरूद्ध मुद्दा दायर गरेको हो। अधिकृत हरिनारायणले २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ ।

यस्तै भुपबहादुरले १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ,  गोपालबहादुरले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसादले १६ लाख ८१ हजार ६०० रूपैयाँ, चन्द्रबहादुरले २ लाख ४४ हजार ४६२ रुपैयाँ, कमोदले १ करोड ४१ हजार ४७ हजार १७१ रुपैयाँ र नासु किरणप्रसादले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले उनीहरूलाई बिगो जफत, त्यसको दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरेको छ।