काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारणसभाले १२.५० प्रतिशत लाभांशसहितको आ.व. २०७८–७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्तापुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँबरावरको बोनस सेयर सेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ। यसपछि बैंकको कुल चुक्तापुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ। 

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए। उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन बिजनेस प्रोसेस रि–इन्जिनियरिङ, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समयसापेक्ष सुदृढीकरण गर्नेसम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए। 

सभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरुको उपस्थिति थियो।

अध्यक्ष पाठकबाट प्रस्तुत प्रतिवेदन माथि सेयरधनीहरु डमरु वल्ल्भ घिमिरे, दामोदरप्रसाद घिमिरे, रामगोपाल श्रैष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्दै बैंक सुधारका लागि विभिन्न सुझावसहितको धारण राखेका थिए। उक्त टिप्पणी एवं जिज्ञासाबारे अध्यक्ष पाठकले जबाफ दिएका थिए। 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ रहेको छ।