काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रहेको आफ्नो १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर मंगलबारबाट लिलाममा राखेको छ । 

राष्ट्र बैंकले प्रतिशेयर न्यूनतम  १ हजार ३२ रुपैयाँका दरले शेयर लिलाममा राखेको हो । लगानीकर्ताले उक्त दररेटभन्दा माथि बोलकबोल गरेर आवेदन दिनुपर्नेछ । 

राष्ट्र बैंकले गत मंसिर ४ गते नेप्सेलाई पत्र लेखेर शेयर बिक्री सहजीकरणका लागि आग्रह गरेको थियो। सोहीबमोजिम १०० रुपैयाँ अंकित दरका शेयरलाई राष्ट्र बैंकले प्रिमियमसहित बिक्री गर्न लागेको हो। 

लगानीकर्ताले भदौ २ गतेभित्र आवेदन दिइसक्नु पर्छ। बैंक तथा वित्तीय संस्था तथा सुचिकृत संस्थाले मात्र खरीद आवेदन दिन पाउनेछन्। 

राष्ट्र बैंकद्वारा मंगलबार प्रकाशित सूचनामा प्राप्त बोलपत्र आवेदन भदौ ४ गते बिहान ११ राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा खोलिने जनाइएको छ । तर सो दिन शनिबार परेकोले भदौ ५ गते आइतबारमात्र बोलपत्र खोलिनेछ । 

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र ब्रोकरको ०.६२ प्रतिशत शेयर हिस्सा रहेको छ।