काठमाण्डौ । सरकारले गरिब तथा मजदुर परिवारलाई राहत वितरण गर्न लगत संकलनका लागि तीन दिनको समयसीमा दिएको छ। 

कोरोना प्रभावितका लागि राहत सुविधा प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने कार्यायोजना २०७६ मा तीन दिनभित्र लगत संकलन गर्न प्रत्येक स्थानीय तहका वडालाई निर्देशन दिएको हो। यो कार्ययोजना चैत्र १६ गते स्वीकृत भएको थियोे। गरिब तथा मजदुर परिवारको लगत संकलन भएपछि राहत वितरण हुने अर्थ मन्त्रालयले जनाएको छ। 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। पहिलो चरणको लकडाउन चैत १८ गते बिहान ६ बजे सकिए पनि अहिले दोस्रो चरणको लकडाउन जारी छ। यो लकडाउनको अवधि चैत २५ गतेसम्म तोकिएको छ।

लकडाउनका मजदुरी गरी जीविकोपार्जन गर्ने गरिब तथा मजदुर परिवार समस्या परेपछि सरकारले राहात वितरणको प्रक्रिया अगाडि बढाएको हो। वडा तहबाट विवरण आएपछि ती परिवारलाई राहात वितरणमा सहजता हुने अर्थ मन्त्रालय स्रोत बताउँछ।

यसैगरी कार्ययोजनामा कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट तुरुन्त खाद्य आवश्यकता पुग्ने गरी स्थानीय तहको समन्वयमा राहत वितरण गर्नुपर्ने उल्लेख छ। राहत सुविधा लिने परिवार र व्यक्तिको विवरण सार्वजनिक गरेर त्यसको अद्यावधिक विवरण संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयमा पठाउनुपर्नेछ।