काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेलगायतका एजेन्डासमेत छलफल गरी पारित गरेको छ। कम्पनीले पारित गरेको लाभांश मंसिर १५ गतेसम्म कायम सेयरधनीले पाउनेछन्।

रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले नेपालीहरुको लगानी भएको कम्पनी हो।  यस कम्पनीले गुल्मी तथा पाल्पाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। 

कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ कात्तिक १५ गतेदेखि  व्यवसायित उत्पादन गरिरहेको छ। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको इवाखोला जलविद्युत आयोजनामा समेत यस कम्पनीको २५५ (१४ करोड) सेयर लगानी रहेको छ। 

आगामी आर्थिक वर्षहरुमा कम्पनीको बुटवल सोलार आयोजनाको विद्युत बिक्री आम्दानी तथा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्ने लाभांशसमेत प्राप्त गर्ने हुँदा कम्पनीको आयमा वृद्धि भई आफ्ना सेयरधनीहरुलाई दिने लाभांशमा पनि वृद्धि हुने कम्पनीको दाबी छ। कम्पनीले रिडीखोलाको व्यावासायिक उत्पादनपश्चात् हरेक वर्ष सेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ।