काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ। 

काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा शुक्रबार सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो। कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेटले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामाका लागि १०० अंकित दरको १ः०.५ अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।  

हाल कम्पनीको चुक्तापुँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ।

विशेष साधारणसभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष सञ्जीव न्यौपानेले सेयरधनीहरुको उच्च प्रतिफलका लागि आफूहरु लागि रहने बताए। 

त्यसैगरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको बारेमा सेयरधनीलाई प्रस्ट पारेका थिए। 

कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाका लागि प्रमोटर सेयरसमेत खुलाएको छ। इच्छुक लगानीकर्ताले केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। 

हकप्रद सेयर पाएसँगै साधारणसभामा बोल्ने सेयरधनीहरुले बलेफी खोला जलविद्युत आयोजनाका लागि शुभकामना व्यक्त गरेका थिए। 

यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ। बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४४० करोड लगानीमा बन्नेछ। जसमा कुमारी बैंकको अगुवाइमा ७५ प्रतिशत ऋण गरेको छ।