काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ। 

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफा ५६९३.१३ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्ष यही अवधिमा ७८ लाख ६२ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर ४५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १६१.६४ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीको आम्दानी १ करोड ३७ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीले अन्य स्रोतबाट व्यापक आम्दानी गरेको छ। जसअनुसार समीक्षा अवधिमा अन्य स्रोतबाट कम्पनीले ६० करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५ लाख १८ हजार रुपैयाँमा सीमित थियो।

कम्पनीको सञ्चालन मुनाफा पनि ५५१२.८३ प्रतिशतले बढेर ६२ करोड ९३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ करोड १२ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ५८ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १०९३.६९ प्रतिशतले बढेर ४५ करोड ५७ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ३ करोड ८१ लाख रुपैयाँमात्रै थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.४१ रुपैयाँबाट बढेर ७७.७९ रुपैयाँ पुगेको छ। पीई रेसियो ८.१० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७७.८४ रुपैयाँ रहेको छ।