काठमाण्डौ । दोश्रो बजारमा गिरावटको मार एकपछि अर्को गर्दै म्युचुअल फण्डहरुले व्यहोरिरहेका छन् । अधिकांश म्युचुअल फण्डहरुको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) घटिरहेको छ । यही क्रममा लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेका २ म्युचुअल फण्डमध्ये एउटाको न्याभ घटेको छ भने अर्को स्किमको सामान्य बढेको छ । 

लक्ष्मी भ्यालू फण्ड-१ को न्याभ असारको १०.८४ रुपैयाँबाट घटेर साउनमा १०.७८ रुपैयाँ कायम भएको हो । 

यो स्किम ५० करोडबाट सुरु भएको थियो । साउन मसान्तसम्म स्किमले ३७ कम्पनीका सूचिकृत सेयरमा ३० करोड ७८ लाख लगानी गरेको छ । 

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी २ करोड ९३ लाख रकम नवील बैंकको प्रोमोटर सेयरमा लगानी गरेको छ । यो बैंकको ४० हजार ३ सय १९ कित्ता प्रोमोटर सेयर स्कीमले खरीद गरेको हो । 

यो स्किमले ९ करोड मुद्धती खातामा राखेको छ भने १३ करोड ९३ लाख बैंकमा मौज्दात रहेको छ । 

यो स्किमको खूद घाटा बढेको छ । असार मसान्तसम्म ४ करोड ७६ लाख रहेको घाटा बढेर १० करोड ३८ लाखको उचाईमा पुगेको हो । 

लक्ष्मी क्यापिटल मार्केटबाट प्रवद्र्धित अर्को स्किम लक्ष्मी इक्वीटी फण्डको न्याभमा भने सामान्य बढोत्तरी भएको छ । असार मसान्तसम्म ८ रुपैयाँ ६६ पैसा रहेको न्याभ बढेर ८ रुपैयाँ ६७ पैसा कायम भएको हो । 

१ अर्ब २५ करोडबाट सुरु भएको स्किमले सूचिकृत कम्पनीको सेयरमा ७० करोड ४४ लाख र १३ लाख ८१ हजार पब्लिक इस्यूमा लगानी गरेको छ । यो स्किमले ५८ सूचिकृत कम्पनीका १४ लाख १० हजार कित्तामा लगानी गरेको छ । 

कुल लगानीमध्ये सबैभन्दा बढी एनएमबी बैंकको सेयरमा ४ करोड ५७ लाख गरेको छ । यो बैंकको १ लाख ३७ हजार ८ सय ५९ कित्ता खरीद गरेको छ । 

यो स्किमको खूद घाटा पनि बढेको छ । असार मसान्तसम्म १६ करोड ५३ लाख रहेको खूद घाटा बढेर २१ करोड ५८ लाख पुगेको हो ।