– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २०७८ साल पुस महिनादेखि अध्यक्षको जिम्मेवारी सम्हालेका रमेशकुमार हमालको कार्यकाल करिब डेढ वर्ष बितिसकेको छ। योबीचमा सेयर बजार करिब २५०० माथि रहेको थियो र झन्डै ७०० अंकले खसिकेको छ।  

दुर्भाग्यवश भनौँ वा मार्केटको ट्रेन्ड भनौँ हमाल धितोपत्र बोर्डमा आएपछि नेपालको पुँजीबजारमा एकोहोरो गिरावट आइरहेको छ। धितोपत्र बोर्डमा आएपछि हमालले केही राम्रा काम भने नगरेका होइनन्। हमालले मर्जरमा गएका कम्पनीहरुको हकमा १५ दिनमात्रै कारोबार रोकिनुपर्ने तथा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर ल्याउने पक्षमा भने राम्रै काम गरेको केही लगानीकर्ता बताउँछन्। 

नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको वा नरहेको भन्ने विषयमा संसदमा समेत प्रश्न उठेको थियो। केही जनस्तरबाट अहिले भएकै स्टक एक्सचेन्जलाई सुधार तथा निजीकरण गर्ने विकल्प हुँदाहुँदै अरुकै ईशारामा नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको आरोप लाग्दै आएको छ। तर, पनि अध्यक्ष हमालले आफूहरुले बजार विकास र विस्तारका लागि अहोरात्र काम गरिरहेको दलील पेस गर्न भने छाडेका छैनन्। 

धितोपत्र बोर्डको कार्यालयमै बिजशालासँगको छोटो भेटमा अध्यक्ष हमालले धितोपत्र बोर्डको काम बजार तल–माथि गर्ने नभएको बताए। उनले भने, ‘हामीले नीति बनाउने हो र अनुगमन गर्ने हो, जुन काम हाम्रोतर्फबाट भइरहेको छ।’

मौद्रिक नीति बनाउने तथा बजारमा पैसा पठाउने काम नेपाल राष्ट्र बैंकको रहेको हमालले बताए। ‘हामीले गर्ने काम भनेको रेगुलेसन नै हो। त्यसैले तपाइँहरुले बुझ्नुपर्यो कसको काम के हो ? भन्ने कुरा’, उनले भने। 

बिजशालाले ‘हामी ५० लाख लगानीकर्ताको जिज्ञासा लिएर तपाइँको धारणा बुझ्न आएका हौँ’ भन्दा हमालले अहिले नबोल्ने बताए। हामीले अघिल्लो साता नै समय लिएर बजारसँग सबद्ध प्रश्न लिएर आज धितोपत्र बोर्ड गएका थियौँ। 

यस्ता छन् अध्यक्ष हमाललाई बिजशालाले राख्न खोजेको प्रश्नहरु 

  • हिजो संसदमा पनि प्रश्न उठेको छ अन्य विकल्प (भएकोलाई सुधार गर्ने) हुँदाहुँदै नयाँ स्टक एक्सेचेन्जको अहिले नै आबश्यकता किन ?
  • अहिले बजार घटेर लगानीकर्ता निकै पीडामा छन्। राष्ट्र बैंकको नीतिका कारण मनोबल बढ्न नसकेको लगानीकर्ता बताउँछन्। तपाइँले के–कस्तो भूमिका खेल्नुभएको छ ? 
  • धितोपत्र बोर्डले १० कित्ताको व्यवस्था हटाउँदैछ भन्ने सुनिन्छ। यो कति सत्य हो ? हटाउने हो भने किन हटाउनु पर्यो ? यसले विद्यार्थी तथा गृहिणीलाई पनि समेटेको थियो नि ?
  • हिमालयन स्टक एक्सचेन्जसँग पुरानो नाम पनि जुधेको छ। अब के हुन्छ ?
  • घोराही सिमेन्टलाई हतार–हतारमा ३०० भन्दा बढी प्रिमियम थपेर आईपीओ ल्याउन धितोपत्र बोर्डले अनुमति दिएको छ। के यो मूल्य जायज छ ?