-अर्जुन तिमिल्सिना 
काठमाण्डौं । नेपाली समाजमा नयाँ र पुराना विषय बस्तुका धेरै कथा छन् । दसैंमा नयाँ कपडा लगाउनु, नयाँ ठाउँ घुम्न जानु, पुरानै कोर्ट लगाएर भए पनि नयाँ किताब किन्नु आदि इत्यादि ।

पाएसम्म नयाँ पाएपछि पुरानो थन्क्याउने मानिसको चलन सामान्य नै हो । नयाँ–नयाँ मोबाइल र गाडी फेर्ने संसारमा मानिसको चाहाना नै हुन्छ । किनकी नयाँ वस्तुमा केही नयाँ फिचर र सुविधा हुने गर्छन। 

नेपाल सेयरबजारको करिब २९ वर्षको इतिहासमा सेयर लगानीकर्ताले २ पटक नयाँ ब्रोकरहाउस छान्ने अबसर पाए । पछिल्लो पटक पुँजीबजारमा ४३ वटा नयाँ ब्रोकरहाउस थपिँदै छन् । हालसम्म ८८ वटा ब्रोकरहाउसले ब्रोकेजको सेवा दिइरहेका छन् । 

नयाँ ब्रोकर नयाँ जोश जाँगर, नयाँ सेवासुविधासँगै उदय भएपछि अहिले राजधानीका पुराना ५० वटा ब्रोकरमा लगानीकर्ताको उपस्थिति कम हुन थालेको छ । पुरानाबाट कैयौं लगानीकर्ता सेवासुविधा पाउने आशामा नयाँतिर सर्न थालेका छन् । 

अहिले नयाँ ब्रोकरहरुले आक्रामक मार्केटिङ गरिरहेका छन् । निःशुल्क रुपमा उपलब्ध गराइने विभिन्न स्किमका कारण समेत पुरानाबाट लगानीकर्ता नयाँतर्फ सर्न थालेका छन् । 

केही समय पहिले नयाँ ब्रोकरमध्येमै राम्रो विजिनेश गरिरहेको क्यापिटल म्याक्समा भेटिएका एक पुराना लगानीकर्ता भन्दै थिए–‘दाई मलाई नयाँ ब्रोकरमा भेटेको भनेर पुरानो ब्रोकरलाई नभनिदिनु है !’

किन लगानीकर्ता लुकी–लुकी नयाँ ब्रोकर धाइरहेका छन् ? यही विषयमा हामीले लगानीकर्ता तथा ब्रोकर हाउस सञ्चालकलाई सोधेका छौं । 

लगानीकर्ता पुरुषोत्तम अधिकारी भन्छन्–‘नयाँ ब्रोकरमा केही  पुरानामा भन्दा भौतिक सुविधा पनि बढी छन् । उनीहरु भर्खर आएकोले लगानीकर्ताका सेवा–सुविधामा पनि बढी ध्यान दिइरहेका छन् ।’

केही नयाँ ब्रोकरले प्राविधिक ज्ञानको निःशुल्क तालिम लगायतको सेवा पनि दिएका छन्। यस्ता स्किमहरुका कारण पनि आफूहरु पुराना ब्रोकर छाडेर नयाँतर्फ मोडिएको लगानीकर्ताहरु बताउँछन् । 

एक पुराना ब्रोकरले नाम नलेख्ने सर्तमा नयाँले मार्केटिङ गर्नु स्वभाविक रहेको बताए । ‘पुरानामा पहिले नै ग्राहक बनिसकेकोले हामीलाई नयाँलाई जस्तो मार्केटिङको आवश्यकता पनि परेन ।’ ती ब्रोकरले भने–‘हामीले सचेतनाको काम गर्न सक्छौं, तर यो खरीद गर्नु, यो बेच्नु भनेर सल्लाह दिन सक्दैनौं ।’

अहिले अनलाइनबाट नै काम हुने भएकोले पुराना ब्रोकर हाउसमा लगानीकर्ताको भौतिक उपस्थिति कमजस्तो देखिएको उनको दाबी छ। 

केही नयाँ ब्रोकरले लिमीट दिने जस्ता प्रलोभन देखाएर देखाएर लगानीकर्ता बोलाइरहेका उनको दाबी छ । ‘अहिले त लिमीट र अन्य प्रलोभनका कारण लगानीकर्ता नयाँतिर जालान्, पछि आफैंलाई अप्ठ्यारो पर्छ ।’ ती ब्रोकरले भने–‘यस्तो मार्केटिङले ब्रोकर स्वयम्लाई पनि गाह्रो पर्नसक्छ ।’