काठमाण्डौ । लगानी बोर्डको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने विषयमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार बिहान हस्ताक्षर गरेका हुन्। 

कार्यक्रममा उपस्थित लगानी बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिए। उनले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानुन, काम गर्ने व्यवहारलगायतमा संशोधन गर्नुपर्ने बताए। 

ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको उल्लेख गर्दै शर्माले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्नेमा जोड दिए। ‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्यो भने मागभन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ। यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’, उनले भने, ‘त्यसैले स्वदेशबाटै पँुजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला।’

शर्माले जलविद्युत परियोजनामा स्वदेशी तथा विदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख कारण भएको बताए। उनले अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिन सके लगानीका लागि खासै समस्या भोग्नु नपर्ने धारणा राखे। ‘आफैँ ऋण तिर्न सक्षम परियोजना छनौट गर्यौँ भने त्यो ऋण परियोजनाले नै तिर्छ, जनतालाई अनावश्यक भार पर्दैन। त्यसैले यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्छ’, उनले भने। 

शर्माले सरकार–निजी क्षेत्र साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रलाई आग्रह गरे। उनले लगानीको वातावरण बढाई ‘डुईङ बिजनेस’ मा थप सुधार गर्नुपर्ने धारणा राखे। 

लगानीकर्तालाई छिटो र छरितो ढंगले सहजीकरण गर्न बोर्डलाई शर्माले निर्देशन दिए। विदेशी लगानी ल्याउँदा प्रविधि पनि सँगै भित्र्याउने सर्त राख्न उनले निर्देशन दिए। ‘हामीले लगानी भित्र्याउँदा अब विकसित देशको प्रविधि पनि ल्याउनतर्फ ध्यान दिनुपर्छ। प्रविधि ल्याइयो भने हाम्रो निजी क्षेत्र बलियो हुन्छ’, उनले भने। 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले ३ खर्बको परियोजना निर्माण प्रक्रियामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिए। उनले बुझाइमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने बताए। 

अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजीकरण गर्ने समय छोट्याएको भट्टले जानकराी दिए। उनले कुन क्षेत्र र कुन परियोजनमा बिदेशी लगानी चाहिने वा नचाहिने भन्ने बारे अध्ययन गरेर निष्कर्षमा पुग्नका लागि सबैलाई आह्वान गरे। 

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताए। उनले चाँडै भारत र चीनमा लगानी सम्मेलन हुन लागेको र त्यहाँ उपस्थित भएर नेपालमा लगाानीका लागि आह्वान गर्ने जानकारी दिए। ‘विदेशी लगानी सहज बनाउन हामीले गर्नुपर्ने प्रयास गर्नेछौँ। सरकारले बारम्बार भोग्दै आएको शोधानान्तर घाटा र तरलता अभावको समस्याालाई सम्बोधन गर्नेगरी विदेशी लगानी भित्र्याउन यो एमओयूले थप सहज बनाउने’, उनले भने।