काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बुधबार(हिजो) ल्याएको लघुवित्त वित्तीय संस्था सम्बन्धी एकीकृत निर्देशन र सरकार परिवर्तन हुने खबरले सेयर बजारमा पहिरो गएको छ । 

आज कारोबारको सुरुवातदेखि नै नेप्से परिसूचक तीव्र गतिमा घटिरहेको छ । कारोबारको आधाघण्टामै नेप्से परिसूचकमा ५० अंकभन्दा बढीको गिरावट आइसकेको छ । 

केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुको विषयमा लिएको नीति तथा लाभांश वितरणमा कडाईं गर्ने नयाँ व्यवस्थाका कारण लगानीकर्ताहरु लघुवित्त कम्पनीका सेयरहरु धमाधम फालिरहेका छन् । यहीकारण आधाघण्टाभित्र एकदर्जन बढी लघुवित्त वित्तीय संस्थाहरुको सेयरमूल्यमा नेगेटिभ सर्किट लागिसकेको छ । 

साधना लघुवित्त, महिला लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो लघुवित्त, आदर्श लघुवित्त, धौलागिरी, सिर्जनशील लघुवित्त, आँधीखोला लघुवित्त, इन्फिनिटी लघुवित्त, जीवन विकास लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा नेगेटिभ सर्किट लागिसकेको छ । यी सबै लघुवित्तका लगानीकर्ताले ३० मिनेटमै १० प्रतिशतको दरले सम्पत्ति गुमाएका छन् । 

यो समाचार तयार पार्दासम्म माइक्रोफाइनान्स उपसमूहको सूचक ७.६२ प्रतिशत(३२९.२६ अंक)ले घटिसकेको छ । लघुवित्त वित्तीय संस्थाहरुको सेयरमा प्यानिक सेलको अवस्था देखिएको छ । लगानीकर्ताको आँखै अगाडि उनीहरुको सम्पत्ति स्वाहा भइरहेको देखिएको छ ।

राष्ट्रबैंकको कडा नीतिका कारण लघुवित्तका सेयरधनीले सम्पत्ति गुमाइरहँदा वर्तमान सत्ता गठबन्धन टुट्ने र पुरानो ५ दलीय गठबन्धन ब्यूँतिने खबरले लगानीकर्ता निराश देखिएका छन् । यसको परिणाम नेप्सेका अन्य समूहका उपसूचक पनि राताम्मे भएका छन् । अधिकांश समूहका उपसूचक २ प्रतिशत हाराहारीमा घटिसकेका छन् । 

सेयर किन्नेभन्दा फाल्नेको लहर देखिएसँगै आधाघण्टाको अवधिमा करिब ५० करोड मूल्य बराबरको किनबेच भएको देखिन्छ । अवस्था हेर्दा गिरावटको यो यात्रा आज कारोबार अवधिभर नै जारी रहनेछ छ।