काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । 

लण्डनमा आयोजित उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले  सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षदेखि लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य शुरु गरेको समेत बताए । 

उनले अन्तरराष्ट्रिय वित्त बजारबाट पूँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप बृद्धि हुने पनि बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले  बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए । 
  कार्यक्रममा सहभागी सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम बहन गर्ने वीमा कम्पनीहरु रहेको भन्दै नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताए ।

त्यस्तै, बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको बताए । उनले बेलायतले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने पनि बताए ।
बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए। त्यस्तै यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांस फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न  राष्ट्र बैंक प्रतिवद्ध रहेको बताए । यसैगरी लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको विभिन्न क्षेत्रमा रहेका अवसरहरु रहेको भन्दै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिवद्ध रहेको बताए ।

त्यसैगरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्रअन्तरगत जलविद्युत परियोजनाहरु र जलविद्युत विकासका लागि ठूलो पूँजीको आवश्यक रहेकोले लगानीकर्ताहरुको लागि यस क्षेत्रमा ठूलो अवसर रहेको बताए ।

उता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।

त्यस्तै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा  लगानीका अवसर रहेको बताए । 

सम्मेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, बीमा कम्पनीहरु, बेलायत लगायत यूरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु,व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायतको सहभागिता थियो ।