भक्तराज रसाइली 
काठमाण्डौ । कमजोर कानून हुँदा सेयर बजारमा सूचिकृत कम्पनीहरुले नै कसरी भित्री कारोबार गर्छन् र पैसा कमाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ नाडेप लघुवित्त वित्तीय संस्था । यो कम्पनीको संचालक समितिले निकै सुनियोजित ढंगले लाभांश वितरण सम्बन्धी सूचनामा खेल्ने काम गरेको पाइएको छ । 

लाभांश सम्बन्धी सूचना समयमा नपठाउने कम्पनीको सेयर कारोबार निश्चित अवधिसम्म निलम्बनमा राखेर त्यस्तालाई आइन्दा त्यस्तो नगर्न भन्दै सचेत गराउने कारबाही बाहेक नेपाल स्टक एक्सचेञ्जले अन्य कारबाही गर्न नसक्ने कानूनी व्यवस्था बुझेको नाडेपले लाभांश सम्बन्धी सूचनामा खेलेको बिषयलाई आलटालमै टुंग्याउन खोजेको छ । 

नाडेपले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको सूचना २ दिन ढिलो गरी नेप्सेमा प्रकाशित भएको थियो ।

नाडेपको मंसिर १२ गते बसेको संचालक समितिबाट भएको निर्णय नेप्सेमा १४ गते मात्र प्रकाशित भएको थियो । नेप्सेमा नाडेपबाट सो सम्बन्धी सूचना मंसिर १३ गते साँझ मात्र आएको थियो । 

यसरी नाडेपले १२ गते भएको निर्णय १३ गते साँझ मात्र पठाएपछि प्रष्टै रुपमा यो सूचनामा नाडेपका संचालक समितिका अधिकारी र कर्मचारीले खेलेका देखिएको भन्दै बिजशालाले समाचार प्रकाशन गरेको थियो । सोही समाचारलाई आधार बनाई नेप्सेले नाडेपको कारोबार रोक्दै स्पष्टीकरण सोधेको थियो । 

नेप्सेको स्पष्टीकरणको जवाफ दिंदै नाडेपेले मंसिर १७ गते पठाएको पत्रमा निकै हास्यास्पद तर्क पेश गरेको छ । पत्रमा लाभांश वितरणको सूचना समयमै पठाउन नसकिएकोमा कम्पनीले केन्द्रीय कार्यालय रहेको स्थान धादिङ क्षेत्रमा सो दिन विद्युत र इन्टरनेट नभएको तर्कसहित आलटाले र झूठा जवाफ दिएको छ । विद्युत र इन्टरनेट नभएकै कारण लाभांश सम्बन्धी सूचना ढिलो प्रेसित गरिएको स्पष्टीकरणपत्रमा दाबी गरिएको छ । 

बिजशालाले धादिङस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रमा सम्पर्क गरी बुझ्दा सो क्षेत्रमा मंसिर १२ देखि हालसम्म कुनै पनि दिन विद्युत अवरुद्ध भएको छैन । यसरी नाडेपले नेप्सेको सेयर सूचिकरण शाखालाई बेवकुफ बनाएर स्पष्टीकरण दिई उम्किएको देखिएको छ ।

उसले आफ्नो स्पष्टीकरणमा आगामी दिनमा संवेदनशील सूचना प्रवाहमा ढिलाई नहुने र समयमै पठाइने प्रतिबद्धता चाहि व्यक्त गरेको छ । 

नाडेपका प्रमुख कार्यकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले पठाएको पत्रमा विद्युत र इन्टरनेट नभएको कारण दर्शाइए पनि बिजशालासँगको टेलिफोन कुराकानीमा नाडेपका कम्पनी सचिव बाबुराम सुवेदीले भने २४ घण्टाभित्र पठाउँदा हुन्छ भन्ने ठानेर ढिलो पठाइएको बताएका थिए । उनीसँगको टेलिफोन वार्ताको अडियो बिजशालासँग सुरक्षित छ । 

कम्पनी सचिवले आफूहरुलाई नियम थाहा नभएर ढिलो पठाइएको बताउनु र प्रमुख कार्यकारी अधिकृतले भने बिजुली र इन्टरनेट नभएको भन्दै झूठा कुरा उल्लेख गरी स्पष्टीकरण दिनुले समेत नाडेपको लाभांश सम्बन्धी सूचनामा राम्रै चलखेल भएको प्रष्टिन्छ । 

सूचिकृत कम्पनीहरुले खुलेआम यस्तो फट्याई र चलखेल गर्दा समेत नेप्सेले कडा कारबाही किन गर्न सक्दैन ? नेप्सेका एक उच्च अधिकारीले भने–‘किनभने कानून नै कमजोर छ । नेप्सेले सचेत गराउने कारबाही बाहेक अन्य गर्नसक्ने कानूनी व्यवस्था नै छैन । यही कमजोर व्यवस्थाको फाइदा उठाएर कम्पनीहरुले खेल्न खोज्छन् ।’