काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा ब्याजदर घटाउने बैंकहरुको निर्णयका कारण उछाल आएको छ । 

बुधबार बिहान वाणिज्य बैंक तथा दिउँसो विकास बैंकका सीइओहरुको सामूहिक बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । 

वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएर सिंगल डिजीटमा झारेका छन् भने विकास बैंकहरुले पनि साबिकको ब्याजदरमा १ प्रतिशत विन्दूले घटाउने निर्णय गरेका छन् । 

बैंकहरुले मुद्दति निक्षेप, बचत तथा कल डिपोजिटको ब्याजदर घटेसँगै सेयर बजारमा उत्साह देखिएको छ । जसका कारण लामो समयदेखि निरन्तर घटेको बजारमा उछाल आएको हो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालले बैंकरहरुले ब्याजदर घटाउने गरी गरेको निर्णयको प्रभाव सेयर बजारमा परेको बताए ।

निक्षेपको ब्याजदर घट्दा आगामी दिनमा लागत कम भई आधारदर घट्ने र यसले लोनको ब्याजदर पनि घटाउने विश्लेषण गर्दै लगानीकर्ताहरु उत्साहित हुँदा त्यसको प्रभाव बजारमा देखिएको प्रष्ट पारे । 

यस्तै, चैत मसान्तसम्म ब्याज बुझाउने तथा करका अन्य दायीत्व समेत बुझाउने समय सकिएका कारण समेत बजारमा सकारात्मक माहौल सिर्जना भएको उनको बुझाई छ । 

ब्याजदर घटाउने विषयमा राष्ट्रबैंकका गभर्नरले ग्रीन सिग्नल दिंदा बजारमा विगतमा जस्तो अर्थमन्त्री र गभर्नरबीच तिक्तता बढ्ने र यसले बजारमा प्रतिकूलता थपिने गरी निर्णय हुनसक्ने त्रास समेत अन्त भएको उनले बताए । 

'माघदेखि घटेको ब्याजदरको केही प्रभावले बैशाख १ गतेदेखि लागू हुने गरी पुराना कर्जाको ब्याजदर पनि घट्ने लगानीकर्तामा बुझाई देखियो ।' ढकालले भने-'नयाँ कर्जाको ब्याजदर त बैशाखदेखि नै निकै नै घट्ने देखियो । तर, पुरानो कर्जाको हकमा पनि निक्षेपको अहिले घटेको ब्याजदरको प्रभाव साउनदेखि पर्ने र कर्जाको ब्याजदर एकल अंकमा सीमित हुने आत्मविश्वास लगानीकर्तामा देखिँदा बजारमा त्यसको प्रभाव देखिएको हो ।' 

लगानीकर्ताका अर्का नेता तथा सेयर लगानीकर्ता दवाब समूहका महासचिव नयन बाँस्तोला हिजो केन्द्रीय बैंकले आर्थिक तथा वित्तीय अवस्था ठीकठाक रहेको भनी लगानीकर्तालाई आश्वस्त बनाएको र त्यसको भोलिपल्ट(आज) नै बैंकहरुले ब्याजदर घटाउने गरी निर्णय गरेपछि लगानीकर्ताको मनोबल बढ्दा बजारमा बाउन्स ब्याक भएको बताउँछन् । 

निक्षेपको ब्याजदर लामो समयको अन्तरालपछि सिंगल डिजीटमा आउने खबर नै बजारका लागि उत्साह भर्ने खबर बन्न पुगेको उनको भनाई छ । 

यस्तै, सरकार र राष्ट्रबैंकबीच अहिले ट्यूनिङ मिलेको समेत लगानीकर्ताले महसुस गरेकोले मनोबल बढाउने काम गरेको उनको दाबी छ । 'गभर्नर सकारात्मक हुँदाको परिणाम पनि हो आजको उछाल ।' उनले थपे-'अदालतले नयाँ स्टक एक्सचेञ्ज थप गर्न तथा ब्रोकर लाइसेन्स वितरणका लागि सहज हुने हिसाबले आदेश दिंदा त्यसले समेत माहौल सकारात्मक बनाएको छ ।' 

 

बजारमा के-के भयो ? 
यो दिन बजार परिसूचक(नेप्से) ९२.२२ अंक(करिब ५ प्रतिशत)ले बढेर बन्द भयो । धेरै समयपछि एकैदिन नेप्से यति धेरै अंकले बढेको हो । बुधबार बजार बढेर १९६३.५५ को विन्दूमा बन्द भयो। 

बजारमा उछाल आउँदा लामो समयदेखि एकअर्बमुनिको कारोबारमा समेत क्रमभंग भयो । यो दिन करिब २ अर्ब बराबरको सेयर किनबेच भयो । 

यो दिन वाणिज्य बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहको सूचकमा उछालको अवस्था देखियो । बैंकिंग समूह ५.४६ प्रतिशतले बढेको यो दिन विकास बैंक समूहमा ५.७४, फाइनान्स समूहमा ६.८४, माइक्रोफाइनान्स समूहमा ५.११ प्रतिशतले उछाल आयो । 

उत्पादन तथा प्रशोधन समूह ४.९५ प्रतिशतले उर्लिएको यो दिन जलविद्युत समूहमा ४.९१ प्रतिशत, लगानी समूहमा ४.२५, जीवन बीमा समूहमा ४.७७, निर्जीवन बीमा समूहमा ४.७६, होटल र टुरिजममा ३.६७ प्रतिशतको उछाल आयो । 

यो दिन म्युचुअल फण्ड समूह २.८७ अंकले बढ्न पुग्यो । 

बजारमा खुशी फर्किएको दिन कारोबारमा आएका २१८ वटै कम्पनीको सेयरमूल्य बढ्यो । गुमाउने कोही पनि भएनन् । ४७ हजार २८५ वटा कारोबारबाट ६१ लाख ७ हजार ४२५ कित्ता सेयर १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । 

सबै कमाउने, गुमाउने शून्य
यो दिन गुमाउने कोही भएनन् । कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य बढ्यो । 

कारोबारमा आएका कम्पनीमध्ये ७ वटाको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । सिद्धार्थ इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन लिमीटेड र गणपति लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 

नौवटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टले ११ करोड ७३ लाख बढीको कारोबार गर्न पुग्यो । 

एनआइसी एशियाको ६ करोड २९ लाख बढीको सेयर किनबेच भएको बजारमा हिमालयन डिस्टीलरीको ६ करोड ३ लाख, नवील बैंकको ५ करोड ३३ लाख र अपी पावर कम्पनीको ४ करोड ८ लाख बढीको सेयर किनबेच भयो ।