काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लामो समयपछि थप सार्वजनिक निष्कासन (एफपीओ)लाई अनुमति दिएको छ। 

सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्ने अनुमति दिएको हो। 

युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको एफपीओ निष्कासनको अनुमति पाएको छ। अब संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ। 

युनिक नेपाल लघुवित्तले २०७८ चैत २१ गते एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएको थियो। निवेदन दिएको १३ महिनापछि युनिक नेपालले एफपीओ जारी गर्ने अनुमति पाएको हो।

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

त्यसो त सेबोन पाइपलाइमा २०७८ असार २९ गते आवेदन दिएको किसान लघुवित्त अझै एफपीओ जारी गर्ने अनुमति पाएको छैन। त्यसपछि एफपीओ जारी गर्न आवेदन दिने मिर्मिरे लघुवित्त, उन्नति सहकार्य लघुवित्त, समता घरेलु लघुवित्त र नयाँ सारथी लघुवित्त पनि सेबोनको अनुमति पर्खाइमा छन्। यी सबै प्रिमियममा एफपीओ जारी गर्ने अनुमति मागेका छन्।