काठमाण्डौ । नेपालमा २७ वटा वाणिज्य बैंक छन्। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई वितरण गरेको लाभांशमा बढोत्तरी देखिएको छ।

वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १०.१४ प्रतिशतले बढेको देखिएको हो। अघिल्लो वर्ष २७ वटा वाणिज्य बैंकहरुको कुल औसत लाभांश (बोनस र नगद) १३.६१ प्रतिशत देखिएको छ। जब कि यो वर्ष बढेर कुल औसत लाभांश १४.९९ प्रतिशत पुगेको छ। 

गत आर्थिक वर्षका लागि नबिल बैंकले सर्वाधिक ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश दिएको छ। अघिल्लो वर्ष यो बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कुल ३५.२६ प्रतिशत लाभांश बाँडेको थियो। जुन अघिल्लो वर्ष पनि वाणिज्य बैंकहरुमध्येको सर्वाधिक थियो। 

गत आर्थिक वर्षका लागि दोस्रो ठूलो लाभांश वितरण गर्ने वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक छ। यो बैंकले ३० प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ३३ प्रतिशत लाभांश वितरण गरेको छ। अघिल्लो वर्ष यो बैंकले २ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी कुल ४.५ प्रतिशत लाभांश वितरण गरेको थियो। 

गत आर्थिक वर्षका लागि तेस्रो धेरै लाभांश दिनेमा हिमालयन बैंक रहेको छ। यो बैंकले गत वर्षका लागि २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। तर नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर भाँडिएसँगै लाभांश वितरण रोकिएको छ। 

अघिल्लो वर्ष हिमालयन बैंकले १४ प्रतिशत बोसन र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश बाँडेको थियो। 

गत आर्थिक वर्षका लागि एनआईसी एसिया बैंकले प्रस्ताव गरेको लाभांश भने राष्ट्र बैंकले बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै अस्वीकृत गरेको छ। बैंकले १५ प्रतिशत बोनस र ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

अघिल्लो वर्ष एनआईसी एसिया बैंकले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश बाँडेको थियो। 

गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अधिकांश वाणिज्य बैंकहरुले आआफ्नो वार्षिक साधारणसभा अनुमोदन गरिसकेका छन्।