काठमाण्डौ । विकास बैंकहरुले साउनमा ब्याजदर घटाउने भएका छन्। 

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको शुक्रबार बसेको बैठकले साउनमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। एसोसिएसन ०.५० प्रतिशतको विन्दुले ब्याजदर घटाउने निर्णय गरेको छ। 

अब साउनमा राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.१० प्रतिशत र व्यक्तिगत म्द्दति निक्षेपमा १०.१० प्रतिशत कायम गर्ने भएका छन्। 

अहिले असारमा राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.६० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.६० प्रतिशत ब्याज दिइरहेका छन्। 

क्षेत्रीयस्तरका विकास बैंकले असारमा संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.८५ प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.८५ प्रतिशत ब्याज दिइरहेका छन्। अब साउनमा घटाएर क्रमशः ८.३५ प्रतिशत र १०.६५ प्रतिशत दिनेछन्। 

विकास बैंकहरुले असारमा निक्षेपको ब्याजदर स्थिर राखेका थिए। ‘तरलता थुप्रिएको अवस्थामा ब्याजदर स्थिर राख्नु उचित नदेखिएकोले घटाउने निर्णय भएको हो’, एक विकास बैंकका सीईओले भने। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन(एनबीए)को बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति हटाउँदै बैंकहरु आफैँले ब्याजदर निर्धारण गर्ने बाटो खुला गरिएको थियो। ‘एनबीएले जस्तो ब्याजदरमा खुला छाड्ने अवस्था अहिले देखिएन’, ती सीईओले भने, ‘एनबीएको निर्णयले वाणिज्य बैंकहरु ब्याजदर घट्बढ गर्दा निक्षेप संकलन प्रभावित हुन सक्ने देखिएर सहमतिमै ब्याजदर घटाउने निर्णय भएको हो।’