काठमाण्डौ । ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएका छन्। 

विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका हुन्। आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई ८० करोड रुपैयाँको १ः.१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ। 

अब यी दुवै कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछन्। धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी दुवै कम्पनीले हकप्रद जारी गर्नेछ। 

हाल ङादी ग्रुप पावरको लमजुङको सिउरीखोला साना जलविद्युत आयोजना (४.९५ मेगावाट)बाट नियमित विद्युत उत्पादन तथा वितरण भइरहेको छ। सञ्चालित उक्त आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋणलगायतका वैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ।

यसैगरी आँखुखोला जलविद्युतले हकप्रद बिक्रीबाट प्राप्त हुने रकम रकम गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ। यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। 

त्यसैरी हकप्रदबाट प्राप्त हुने बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।