काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा ३ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २८.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

पहिलो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा भने २.२४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ५ करोड ३६ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा घटेर ५ करोड रुपैयाँ ४८ लाख रुपैयाँमा सीमित भएको छ। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १.४० प्रतिशतले घटेर ७ करोड ४१ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ७ करोड ५१ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी ८० करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ १६ करोड ६७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ १५ करोड १५ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.२८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५.९६ रुपैयाँ थियो। पीई रेसियो ४७.४१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७९.२२ रुपैयाँ र आरओई २.२३ प्रतिशत रहेको छ।