काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २१.३३ प्रतिशतले घटेको छ। गत वर्ष १० करोड ६४ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ७ करोड ६६ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १३.६२ प्रतिशतले बढेर १६ करोड ८९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड १२ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। अन्य स्रोतबाट हुने आम्दानी भने ६ करोड १७ लाख रुपैयाँबाट घटेर २८ करोड ९२ लाख रुपैयाँमा सीमित बनेको छ। 

चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ घटेर १६ करोड ५९ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा २८ करोड ९२ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.१२ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस ३५.७४ रुपैयाँ रहेको थियो।  पीई रेसियो ३८.५० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.०१ रुपैयाँ रहेको छ।