काठमाण्डौ । जोखिमपूर्ण लगानी भनेर चौतर्फी आवाज उठे पनि, अदालतमा मुद्दा परे पनि वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपालीहरुले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आइपीओ सबै खरीद गरिदिएका छन् । 

यो कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिने आज(मंसिर १८ गते) अन्तिम दिन हो । 

चरम विवादमा परेको र अदालतमा यो आईपीओ रद्दको माग गर्दै मुद्दा समेत परिसकेको अवस्थामा समेत लगानीकर्ताले कसैको कुरा नसुनी आवेदन दिएका देखिएको छ । 

हिजो(मंसिर १७ गते) साँझसम्म यो कम्पनीको आईपीओमा माग गरिएकोभन्दा बढी कित्ताका लागि आवेदन परिसकेको छ। 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयर निश्कासन गरेको हो । ३० लाख कित्ता निश्कासन भएकोमा हिजो साँझसम्म ३५ लाख हाराहारी कित्ताका लागि आवेदन परेको छ । आजसम्म आवेदन दिने समय रहेकोले यो अझै बढ्नेछ । 

यसरी, चौतर्फी विरोध र अलर्टका बाबजुद हिमालयन रि इन्स्योरेन्सको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले खरीद गरिदिएका छन् । 

पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।

कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । 

यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो । हाल यसलाई रद्दको माग गर्दै अदालतमा मुद्दा समेत परेको छ ।