काठमाण्डौ । विवादास्पद घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया फुकुवा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल र प्रवक्ता मुक्तिनाथ श्रेष्ठ क्यानडा जान लागेको खुलासा भएको छ। 

सेबोन स्रोतका अनुसार अध्यक्ष हमाल र प्रवक्ता श्रेष्ठ भोलि बुधबार एन्टी मनी लाउन्ड्रिङसम्बन्धी कार्यक्रममा सहभागी हुन क्यानडाको भ्यानकुभर जाँदैछन्। ‘उनीहरु साउनको पहिलो सातामात्रै नेपाल फर्किने कार्यक्रम छ’, स्रोतले भन्यो। 

क्यानडा जानुअघि सेबोनले स्थगित गरेको घोराही सिमेन्टको आईपीओ निष्कासन फुकुवा गर्ने सम्भावना रहेको पनि स्रोतले जानकारी दियो। ‘त्यसका लागि आज साँझ साढे ५ बजेदेखि सेबोन सञ्चालक समितिको बैठक बसिरहेको छ’, स्रोतले भने, ‘बैठक अझै चलिरहेको छ, सम्भवतः घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया फुकुवा गर्ने निर्णय गर्न सक्छ।’

घोराही सिमेन्टको रेटिङका विषयमा भने सेबोनले केयर रेटिङमाथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्न सक्ने स्रोत बताउँछ। ‘अरु कुरा यथावतै राखेर आईपीओ निष्कासनको प्रक्रियालाई भने अगाडि बढाउन बैठकले अनुमति दिने सम्भावना छ’, स्रोतले भन्यो। 

आजको बैठकको मुख्य अजेन्डा नै घोराही सिमेन्ट प्रकरण रहेको स्रोत बताउँछन्। 

सेबोन सञ्चालक समितिले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया फुकुवा गरेर अध्यक्ष हमाल र प्रवक्ता श्रेष्ठ क्यानडा जाने तयारी गर्नुलाई शंकास्पद दृष्टिकोणले हेरिएको छ। क्यानडा भ्रमण यो विवादास्पद आईपीओ निष्कासन प्रक्रिया फुकुवाको निर्णयबाट हुन सक्ने आलोचनाबाट जोगिन गतिलो यात्रा हुने स्रोत बताउँछ। 

यो प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक दीपेश ताम्राकार र समितिका सदस्यहरुले पनि यस विषयमा खुलेर बताउन चाहेनन्। ‘हामीलाई यसबारेमा बोल्ने अधिकार छैन, प्रवक्तालाई नै सोध्नुहोस्’ भन्दै एक सदस्यले बिजशालासँग भने। 

फर्जी आवेदन र विवादास्पद रेटिङका कारण सेबोनले गत असार ६ गतेबाट घोराही सिमेन्टले सर्वसाधारणका लागि जारी गरेको आईपीओ स्थगित गरेको थियो। यो आईपीओमा विशेषगरी फर्जी आवेदन, कम्पनीको रेटिङ र सेयर प्रत्याभूतिकर्ताका विषयमा छानबिन हुने स्वयं अध्यक्ष हमालले बताएका थिए। तर, यी विषयमा हालसम्म सेबोनका तर्फबाट कुनै आधिकारिक कुरा बाहिरिएको छैन।