काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा जारी गर्न थालेको आईपीओ  तत्काल रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

लगानीकर्ताहरुको तर्फबाट  यमप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा निश्कासन थालेको आईपीओ रोक्न रिट दायर गरेका हुन् । 

विद्यमान ऐन कानूनविपरीत हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न दिइएको र यसमा नियामकहरुको समेत मिलीभगत रहेको दाबी गर्दै रिट दायर गरिएको हो । 

रिटमा पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, खुमलटार, धितोपत्र बोर्डको सञ्चालक समिति, बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ । 

सर्वोच्चले शुक्रबार दायर सो रिटको पेशी मंसिर १० गते आइतबारका लागि तोकेको छ । अदालतले प्रिमियममा आईपीओ  निश्कासन प्रक्रियाको विषयमा कारणदेखाउ आदेश जारी गर्दै आन्तरिम आदेश दिए यो कम्पनीको आईपीओ प्रक्रिया रोकिनसक्छ । 

हाल हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि अंकित मूल्य १०० मा १०६ प्रिमियम जोडी प्रतिकित्ता २०६ रुपैयाँको दरले सेयरको बिक्री खुलाएको छ । कुल ३० लाख कित्ता निश्कासन भएकोमा १३ लाख कित्ता हाराहारी आइपीओ बिक्री भइसकेको छ । 

हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियमा आईपीओ  निश्कासन दिंदा नियामक निकायका प्रमुख तथा सञ्चालक समिति नै प्रलोभन(प्रभाव)मा परेको आरोप लाग्दै आएको छ । धितोपत्र बजारका लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियमा आईपीओ जारी गर्न नदिने माग गरे पनि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सञ्चालक समितिमा हस्तक्षेपकारी नीति लिंदै यो कम्पनीलाई आईपीओ निश्कासनको अनुमति दिएका थिए । 

यो कम्पनीलाई प्रिमियमा आईपीओ निश्कासन गर्न दिंदा ठूलो आर्थिक चलखेल भएको आरोप समेत लाग्दै आएको छ ।