पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकारविरुद्धको आन्दोलन जरुरी रहेको बताएका छन्। 

‘हामी उद्यमी व्यवसायीमा आन्दोलन नारा जुलुस भन्ने हुँदैन, हामीले व्यापार–व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो’, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अहिले हामी यस्तो अवस्थाबाट गुज्रिएका छौँ कि आफ्ना माग सुनुवाइ गर्न पनि सरकार विरुद्ध आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ।’ 

अहिले सरकारले व्यवसायीका माग सुनुवाई नगरेकै कारण समस्या झन जटिल बन्दै गएको श्रेष्ठको भनाइ थियो। अहिलेको समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकको मध्यस्तता हुनुपर्ने उनको तर्क छ। 

यस्तै पछिल्लो समय उद्योगी–व्यवसायीको व्यापार घट्नुका साथै बजारबाट उधारो समेत नउठेका कारण अहिले बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगिएको श्रेष्ठले जानकारी दिए। ‘अहिले दैनिक रुपमा बैंकको किस्ता र ब्याज तिर्नका लागि पत्रिकामा तीनपुस्तेसहित सूचना प्रकाशित हुने काम गरेको छ’, उनले भने, ‘अहिलेको जटिल अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनका लागि सरकार र राष्ट्र बैंकले समन्वय गरी कर्जाको किस्ता र ब्याजको पुर्नतालिकिकरण गर्नुपर्छ।’

राष्ट्र बैंकको अव्यवहारिक निर्णयका कारण अहिले उद्योगी–व्यवसायी उच्च ब्याजदरको चपेटामा परेको समेत श्रेष्ठको भनाइ छ। ‘आधारदरलाई हेर्ने हो भने वाणिज्य बैंकको ब्याज १० प्रतिशत हाराहारीमा छ’, उनले भने, ‘तर राष्ट्र बैकले त्यसमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गर्दा हामी मारमा परेका छौँ। अब हामीले सरकार र राष्ट्र बैकसँग छलफल गरी प्रिमियमलाई २ प्रतिशतमा कामय गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।’ 

श्रेष्ठले आर्थिक संकटका कारण उद्योगीव्यवसायीले बजारमा दिएको उधारो नउठ्ने सम्भावना बढेको बताए। ‘सरकारले उधारो रकममै भए पनि कर लिँदै आएको छ’, उनले भने, ‘अहिले हामी दोहोरो मारमा छौँ। तसर्थ, उद्योग–व्यवसाय बचाउनका लागि पनि सरकारले तत्काल क्रेडिट एक्ट ल्याउनुपर्छ।’