– अनन्त्य सुन्दर

काठमाण्डौ । लगानीकर्ताले कुल खरिद मूल्यको केही हिस्सा आफूले नगद तिर्ने र बाँकी हिस्सा ब्रोकरबाट ऋण लिएर ब्याज तिर्ने सर्तमा गरिने कारोबार मार्जिन ट्रेडिङ छिट्टै नै कार्यान्वयनमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट संशोधन स्वीकृत भएर आइसकेकाले नेप्सेले केही दिनभित्रै लागू भएको सूचना जारी गर्ने बताए। ‘अर्को सातासम्म नेप्सेले सूचना जारी गरेसँगै मार्जिन कारोबार कार्यान्वयनमा आउनेछ’, उनले भने, ‘राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ब्रोकरहरुले मार्जिन कारोबार सुरु गर्न पाउनेछन्।’

नेप्सेमा कार्यविधि संशोधन हुने प्रक्रिया भएसँगै ब्रोकरहरुले लगानीकर्तासँग ३० देखि ४० प्रतिशत मार्जिन लिएर बाँकी कर्जा उपलब्ध गराउने तयारी गरिरहेका छन्। लगानीकर्ताका साथै लगानीकर्ताका अगुवाहरु पनि संशोधनसहित मार्जिन कारोबार आउने भएकाले उत्साहित देखिन्छन्। आफूहरुले उठाउँदै आएको एउटा महत्वपूर्ण माग सम्बोधन भएको उनीहरुको भनाइ छ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल संशोधनसहित मार्जिन कारोबार कार्यान्वयनमा आएसँगै बजारलाई सकारात्मक प्रभाव पर्ने बताउँछन्। ‘बैंकमा पहुँच नभएकाहरुले अब ब्रोकरबाट नै कर्जा पाउने भएकाले साना लगानीकर्ताहरुलाई पनि फाइदा हुन्छ’, उनले भनिन्।

‘हामीले झन्डै ३ वर्षअघि नै ५८ बुँदेमा उठाएको मागहरुमध्ये मार्जिन कारोबार पनि एक हो’, पोख्रेलले भनिन्, ‘बजारमा सहभागिता बढेको बेला संशोधनसहित कार्यान्वयनमा आउँदा समग्र बजार विकास र विस्तारमा मार्जिन कारोबारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ।’

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की मार्जिन कारोबारको कार्यविधि आउँदा पनि कार्यान्वयनमा जटिलता र अप्ठ्यारोका कारण ब्रोकरहरुले कार्यान्वयनमा ल्याउन नसकेको बताए। ‘संशोधनमा धेरै अप्ठ्यारो कुराहरुको गाँठो फुकेसँगै अब मार्जिन कारोबार कार्यान्वयनमा आउने भएको छ’, उनले भने, ‘बजारमा कारोबार रकम बढ्नुका साथै नेपालको पुँजी बजारमा विकास र विस्तारका लागि बजारमा यसको ठूलो र सकारात्मक प्रभाव पर्छ।’

‘हामीले विगतमा पटक–पटक उठाउँदै आएको माग कार्यान्वयनमा आउने भएको छ। बजारमा मार्जिन कारोबार कार्यान्वयनमा आएसँगै बजारमा भोल्युम बढ्नुका साथै बजार चलायमान हुन्छ’, कार्की भन्छन्, ‘अब बजारमा मार्जिन कारोबार सुरु भएसँगै ५० लाख रुपैयाँको कारोबार गर्दै आएको लगानीकर्ताले १ करोड रुपैयाँसम्मको कारोबार गर्ने माहौल सिर्जना हुन्छ।’