काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको सत्प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । 

कम्पनीले आगामी पुस २५ गते बुधबार आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गर्दै हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँको सत्प्रतिशत(१ः१ को अनुपात) हकप्रद निश्कासनको प्रस्ताव अगाडि बढाएको हो । 

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०७९ ८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने अजेण्डा राखिएको छ । 

यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि पनि छलफल हुनेछ ।

सञ्चालक समितिबाट भए गरेका निर्णय अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ सञ्चालक चुन्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, अन्य जलविद्युत कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्तिको विषयमा छलफल गरी सोसम्बन्धी सबै अधिकार सञ्चालक समितिमा प्रत्यायोजन गर्ने, अन्य कम्पनीमा लगानी गर्ने लगायतका अजेण्डा समेत एजीएममा पेश हुनेछन् । 

एजीएमका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्नेछ । यसको अर्थ कम्पनीको साधारणसभा सहभागी बन्न इच्छुकले पुस ११ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।