काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी चैत २८ गते शनिबारका दिन मोरङको कटारीमा रहेको जीवन विकास समाजमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न आवश्यक भएमा प्रक्रिया अबलम्बन गरी सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। यस्तै सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा प्रयोजनका लागि बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।