काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफामा उछाल आएको छ। 

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०४.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा ३ करोड २ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकले ९ प्रतिशतको हाराहारीमा लाभांश वितरणको क्षमता बनाएको छ।

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३३.०३ घटेर २ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ४ करोड १७ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि घटेर ५ करोड ६६ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षसम्म यस्तो आम्दानी २२ करोड २० लाख रुपैयाँ रहेको थियो।

बैंकले ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष ३ अर्ब ४० रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले समीक्षा अवधिमा निष्क्रिय कर्जा घटाएर १.४४ प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा ३.९२ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकको सीडीआर ८६.१२ प्रतिशत रहेको छ भने आधार दर १०.२४ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.४२ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.१७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२०.६७ रुपैयाँ रहेको छ।