– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन समयानुकूल घटाइने बताएका छन्। 

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा आज भएको लगानीकर्ता अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष हमालले ब्रोकर कमिसन घटाइने बताएका हुन्। ‘अब छिट्टै समायानुकूल ब्रोकर कमिसन घटाइनेछ’, उनले भने। 

अध्यक्ष हमालले पुँजीबजारमा ब्रोकरको संख्या १०० वटा पुर्याइने पनि बताए। ‘अहिले ५० वटा ब्रोकर छन्, बजारको आकार ठूलो हुँदै गएको छ’, उनले भने, ‘त्यसैले ब्रोकर संख्या १०० पुर्याउने सेबोनको योजना छ।’

नयाँ ब्रोकर थपिएसँगै ब्रोकर कमिसन पनि घट्ने अध्यक्ष हमालले बताए। ‘ब्रोकर संख्या थपिएसँगै पुँजीबजार प्रतिस्पर्धा बढ्नेछ’, उनले भने, ‘लगानीकर्ताले पहिलेभन्दा राम्रो र गुणस्तर सेवा पाउनेछन्।’

अहिले विश्व अर्थतन्त्रमा देखिएको संकट र मुलुकभित्र अर्थतन्त्रमा परेको दबाबले पनि पुँजीबजार सुस्ताएको हमालले बताए। ‘आर्थिक वर्ष सुधार हुँदै गएकोले पुँजीबजारको रौनक पनि छिट्टै फर्किनेछ’, उनले भने, ‘त्यसैले अहिले नै लगानीकर्ता प्यानिक हुनुपर्ने अवस्था छैन। आफ्नो पोर्टफोलियो होल्ड गरेर राख्नुहोस्।’

सेबोन पुँजीबजार विकास र विस्तारका लागि कटिबद्ध रहेको पनि हमालले बताए। ‘हामी छिट्टै थप प्रविधिमैत्री हुनेछौँ’, उनले भने। 

इन्डसाइडर ट्रेडिङलाई नियन्त्रण गर्न सेबोनले आफ्नो ध्यान केन्द्रित गरिरहेको पनि अध्यक्ष हमालले बताए। ‘यस्ता गतिविधि रोक्न हामीलाई तपाइँहरुको साथ पनि चाहिन्छ’, उनले भने।

अध्यक्ष हमालले अबको दुई महिनाभित्र बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने प्रक्रिया पूरा गरिने पनि जानकारी दिए।