काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ वटा विभिन्न क्षेत्रमा ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने जनाएको छ । 

अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका ११ वटा क्षेत्रका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको हो । 

बैंकले कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेय पदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवम् स्वास्थ्य, निर्माण (सिमेन्ट, डन्डी, इँटा रब्लक, पाईप्स् एण्ड फिटिङ्गस लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) क्षेत्र प्राथमिकतामा परेका छन् । 

यी सबै क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य सबै ५ करोडसम्मका कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

यसका लागि ऋणीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थामा अनुरोध गरेमा उक्त संस्थाले उद्योग तथा व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यक र औचित्यको आधारमा पाकेको ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल गरी २०८० चैत मसान्तसम्म पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।