काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांशको सूचनामा चलखेल भएको भन्दै नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको कारोबार निलम्बनमा राखेको छ । 

नाडेपले मंसिर १२ गतेको संचालक समितिको ८७ औं बैठकबाट प्रस्ताव भएको लाभांश सम्बन्धी सूचना नेपाल स्टक एक्सचेञ्जलाई मंसिर १३ गते नै लेखे पनि नेप्सेले भने सो सूचना मंसिर १४ गते मात्र प्रकाशन गरेको थियो । सो विषयमा चलखेल भएको समाचार बिजशालामा आइतबार प्रकाशन भएको थियो । 

सोही समाचारलाई आधार मानी नाडेपको कारोबार निलम्बनमा राखिएको नेप्से स्रोतले जनाएको छ । कारोबार निलम्बनसँगै नाडेपलाई २४ घण्टे स्पष्टीकरण समेत सोधिएको छ । 

नाडेपले मंसिर १२ गतेको निर्णय सोही दिन नेप्सेलाई पठाउन नसक्नु र नेप्सेले १३ गते आएको सूचना १४ गते मात्र प्रकाशन गर्नु पछाडि चलखेल भएको आशंका  गरिएको समाचार प्रकाशन भएको थियो । 

धितोपत्र सूचीकरण विनियमावली,२०७५मा ‘सूचीकरण गराउने संगठित संस्था र नेप्सेबीच भएको सम्झौतामा शर्त नम्बर ५ अनुसार संगठित संस्थाको लाभांश, बोनस वा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेमा कुन मितिसम्म रहेका शेयरधनीहरुले त्यस्तो लाभांश, बोनस वा हकप्रद सेयर पाउने हो सो सम्बन्धी जानकारी त्यस्तो निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोबार सुरु हुनअघि नेप्सेलाई दिनुपर्छ’ भनिएको छ । 

नाडेपको सञ्चालक समितिको बैठक मंसिर १२ गते बसी लाभांशको निर्णय गरेको देखिन्छ । बोनस सम्बन्धी निर्णय सोही दिन वा भोलिपल्ट मंसिर १३ गते दिनुपर्नेमा नेप्सेको वेबसाइटमा मंसिर १४ गतेमात्र हालेर बिहीबार १ दिन लगानीकर्ताहरुलाई गुमराहमा राखिएको थियो । 

नेप्सेले पत्ता लगाएर इन्साइडर ट्रेडिङ्ग भए पनि २र४ दिन कारोबार निलम्बन गर्ने र कारबाहीका नाममा चेतावनी मात्र दिएर छाड्ने प्रवृत्तिले गर्दा बजारमा खुलेआम यस्ता हर्कत हुने गरेका छन् । 

नाडेप लघुवित्तले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरणको सूचनामा चलखेल भएको हो ।