काठमाण्डौ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति पाउने पहिलो कम्पनी बनेको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पहिलोपटक सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति प्रदान गरेको हो। ‘सोमबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो’, धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने। 

धितोपत्र बोर्डले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुने सेयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट ल्याउन सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशयमूल्यअनुसार आधारमूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१.५० रुपैयाँ र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी धितोपत्र बोर्डमा आवेदन दिएको थियो। धितोपत्र बोर्डले कम्पनीको आधारमूल्य ५०१ रुपैयाँ तय गरेको निष्कासनको अनुमति दिएको छ। ‘अब बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ६०१ रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नुपर्नेछ’, श्रेष्ठले भने। 

अब कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट आईपीओ बिक्री खुला गर्नेछ। योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन हुने सेयर जुन भाउमा बिक्री हुन्छ, त्यसलाई नै कटअफ मूल्य मान्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा गरिएको छ। ‘यसरी निर्धारण हुने कटअफ प्राइसमा १० प्रतिशत छुट दिई कम्पनीले बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउनेछ’, श्रेष्ठले भने।