काठमाण्डौ ।धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक विल्डिङ विधि प्रयोगमा ल्याउने तयारी ढिला भएपनि सर्वोतम सिमेन्टले दसैँलगत्तै सेयर निष्कासन गर्ने भएको छ ।

विगत लामो समयअघिदेखि नै सार्वजनिक निष्सकासनमा बुक विल्डिङ विधि चर्चामा आइरहेको थियो । यस्तो विधि कार्यान्वयन गरेर नेपाल धितोपत्र बोर्डले ढिलै भए पनि बुक विल्डिङ विधिमार्फत् सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

यसअघि एफपीओ र धितोपत्र बोर्डलेनै निर्धारण गरेको प्रिमियम मूल्यमा सेयर निष्कासन हुँदै आएकोमा अब बजारलेनै मूल्य निर्धारण गर्ने गरी बोलकबोल विधिमार्फत् आईपीओ बिक्री हुने छ ।

उक्त विधिमार्फत् सर्वोत्तम सिमेन्ट आईपीओ निष्कासन गर्नेमा पहिलो भएको छ । बोर्डले गत अससोज २९ गते कम्पनीलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको हो। यसअनुसार कम्पनीले प्रतिसेयर ४०१ रुपैयाँ कट अफ मूल्यमा बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्नेछ । 
सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ निष्कासन  गर्ने तयारी गरेको कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत आईपीओ बिक्री गर्न अनुमति पाएको छ ।

त्यसपछि कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयवासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 
के हो बुक विल्डिङ ?

बुक विल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताहरुको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण पद्धति हो । 

वास्तविक क्षेत्रका कम्पनीहरुको आईपीओको मूल्य बजारलेनै निर्धारण गर्ने गरी बोर्डले बुक विल्डिङ विधि लागू गरेको हो । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरुपमा बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन हुनेछ । उक्त विधिमार्फत्  आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ । निष्कासन कम्पनीले संस्थागत लगानीकर्ताका लागि बोलकबोलमार्फत आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । 

स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सुसूचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ । 

आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

उक्त विधिमार्फत् कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्ण रुपमा बिक्री हुँदा कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । 

कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता वा खाता फुकुवा गर्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ । 

संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दाको कट अफ मूल्यलाई आधार बनाएर सर्वसाधारणमा आईपीओ जारी गर्नुपर्ने हुन्छ । सबै नेपालीहरुमा कम्पनीहरुको प्राविधिक तथा व्यवस्थापकीय विश्लेषण गर्ने क्षमता नभएको आधारमा धितोपत्र बोर्डले उक्त क्षमता भएका योग्य संस्थागत लगानीकर्ताहरुबाट मूल्य तोक्ने व्यवस्था गरेको हो । 

बुक विल्डिङ विधिमार्फत् निष्कासित सेयरमा संस्थागत लगानीकर्ताको रुपमा सूचीकृत कम्पनी, सामूहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना, मान्यता प्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड रुपैयाँ भएका धितोपत्र लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीहरु रहन पाउने व्यवस्था छ । 

बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुलाई निष्कासन गरिएको सेयर धितोपत्र बजारमा सूचीकरण भएको मितिले ६ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न पाइदैन । सर्बसाधारणतर्फको सेयर भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको भोलिपल्टैदेखि कारोबार योग्य हुनेछ । 

अमेरिकाबाट शुरु भएको यो विधि हाल छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ भने एक अध्ययन प्रतिवेदन अनुसार विश्वका ४० भन्दा बढी मुलुकमा यसको प्रयोग भइसकेको छ ।

संसारभर विभिन्न मुलुकले आफ्नो अर्थतन्त्र र पूँजीबजार सुहाँउदो ढाँचामा बुक विल्डिङ विधि लागू गरेका छन्।  बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार यो विधिबाट आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन वर्षदेखि मुनाफामा सञ्चालन हुनुपर्दछ ।

साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारण सभाबाट स्वीकृती पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तापूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ ।  रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । 

यो विधिबाट आईपीओको बिक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्ताहरुलाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत बिक्री गर्ने व्यवस्था छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रभावकारी हुने वित्तीकै धितोपत्र बोर्डले रिलाइन्स स्पिनिंग मिल्सलाई सोही विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिने बताएको छ ।