काठमाण्डौ । सांसद विकास कोषमा रहेको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने तयारी भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले कोषमा रहेको रकम भूकम्प पीडितका लागि खर्च गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो ।

सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले यसमा अव सरकारले १ अर्ब ७५ करोड रुपैयाँ थपेर विपद व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताइन् ।

भूकम्पपछिको पुनर्निर्माणमा प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएको भन्दै सरकारले विपद व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्था तथा अन्तरराष्ट्रिय समुदायलाई अपिल गरेको छ ।

साथै सोही बैठकले भूकम्पका कारण आवास पूर्ण र आंशिक क्षति भई बस्न योग्य नरहेको घर परिवारलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।